मेरो छोराले जस्तो कसैले अर्काको देशमा ज्यान गुमाउन नपरोस्, परिवार गएर ल्याए कफिन !

साभार तस्विर

काठमाडौँ, विगत साढे चार वर्ष देखि दक्षिण कोरियाको छल्लानाम्दो ख्वाङ्जुस्थित इराई कर्टेक कम्पनीमा कार्यरत ओखलढुंगाको मानेभन्ज्याङ–६ हिलेपानीका २४ वर्षीय बिमन राईको शव मंगलबार स्वदेश ल्याइएको छ ।

ईपीएसमार्फत रोजगारीको निम्ति कोरिया पुगेर क्रंक्रिटबाट ब्लक बनाउने उक्त कम्पनिमा ब्लक ओसार्ने, मिलाउने काम गर्दै आएका बिमनलाई गत जुन १८ (२०७६ असार ३ गते) मा मेसिन चलाउन लगाइएको थियो ।

उनको मेसिन चलाउने क्रममा पुरानो मेसिनको फित्तामा बेरिएर मृत्यु भएको हो । मेसिनको फित्तामा बेरिएर घाइते भएका बिमानलाई तत्काल छल्लानाम्दो ख्वाङ्जुस्थित सुन युनिभर्सिटी हस्पिटल पुर्‍याइएको थियो ।

उनको अवस्था निकै गम्भीर भएको कारण बुबा उजिरबहादुर र माइला दाइ गौतमलाई उनलाई भेट्न दक्षिण कोरिया बोलाइएको थियो । नाजुक अवस्था रहेका कारण डाक्टरको सल्लाहअनुसार बुबा र दाइको रोहवरमा भेन्टिलेटरबाट छुटाइका बिमनको असार १० गते मृत्यु भयो ।

उनको शव ओखलढुंगा सेवा समाज दक्षिण कोरिया र दूतावासको पहलमा नेपाल ल्याइएको हो । ओखलढुंगा सेवा समाज कोरियाका उपाध्यक्ष फणीन्द्र अधिकारीले बिमनको परिवारले पाउनुपर्ने क्षतिपूर्ति र कम्पनी साहुबाट पाउनुपर्ने राहत परिवारले पाइसकेको र परिवारका सदस्य आउजाउका निम्ति कम्पनीले नै सम्पूर्ण खर्च बेहोरेको बताएका छन् ।

साथै उनले कम्पनीले बिमा सञ्चयकोषबापत रकम दिलाएको र कोरियामा रहेका नेपालीबाट ११ लाख वन राहत उपलब्ध गराएको पनि बताए । छोराको शव लिएर मंगलबार अपराह्न त्रिभुवन विमानस्थल आइपुगेका उजिरबहादुरले भने, ‘ मेरो छोराले जस्तो कसैले अर्काको देशमा ज्यान गुमाउन नपरोस् । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया