बैतडीमा प्रहरीले गोली चलाउँदा घटनाले लियो उग्र रुप !

काठमाडौँ, बैतडीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्युपछि आक्रोसित स्थानीय र मृतकका आफन्तले गरेको आन्दोलनले उग्र रुप लिन थालेपछि प्रहरीले हवाई फायर गरेको छ ।

जिल्लाको पाटन नगरपालिका- २ घर भई भीमदत्त पोलिटेक्निकल इन्स्टिच्युटमा अध्ययनरत १९ वर्षीय पूर्णानन्द पाण्डेको ग्रेडरले किचेर मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै स्थानीयले चर्काएको आन्दोलनका कारण उक्त क्षेत्र तनाबग्रस्त बनेको हो । आन्दोलनकारीले राजमार्ग अवरुद्ध गर्नुका साथै इलाका प्रहरी कार्यालय पाटनमा ढुंंगामुढा गरेका छन् ।

स्थिति थप तनावग्रस्त बन्दै गएपछि प्रहरीले हवाइफायर, लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको दाबी गरेको छ । त्यस्तै आन्दोलनका क्रममा २ जना विद्यार्थीसमेत घाइते भएका छन् । घाइते हुनेमा तेज नेपाली र सिद्ध बहादुर बोगटी रहेका छन् । उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका करिब ५ बजे बैतडीको पाटनमा उनलाई ग्रेडरले ठक्कर दिएको थियो थियो ।  ग्रेडरले ठक्कर दिएको थियो । ग्रेडरले किच्दा पाण्डेको घटनास्थलमा मृत्यु भएपछि चालक फरार भएकोमा प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । मृतकका परिवारले शव बुझ्न नमानेपछि शवलाई पाटन प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ ।

राजमार्ग सुचारु गर्नका लागि पीडित पक्ष, पाटन नगरपालिका र सम्बन्धित निर्माण कम्पनीका प्रतिनिधिबीच छलफल गर्ने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया