बल्ल खुल्यो तत्कालीन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुनुको कारण

काठमाडौं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित उच्च पदस्थको निधन भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको छानविन समितिले निष्कर्ष निकालेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीलाई बुझाइएको समितिको प्रतिवेदनले उक्त दिनको खराब मौसममा पाइलटले नियन्त्रण गुमाउँदा दुर्घटना भएको उल्लेख गरिएको छ।

‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो। यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ। पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो। विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो।

मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ। हेलिकप्टर सिधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ। दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ।

बिहानको ११ः४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो। हेलिकप्टर १२ः३४ मा दुर्घटनाग्रस्त भएको थियो।  प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ। दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र (३७० मिटर) रहेको छ। हेलिकप्टरले राउन्ड लगाएको समितिको प्रारम्भिक प्रतिवेदनले देखाएको छ।

‘त्यो समयमा धेरै टाढा जानुपर्ने हो तर हेलिकप्टरमा समस्या आएर फेरि हेलिप्याडमा फर्किने प्रयास गरेको जस्तो देखिन्छ’ समितिका एक सदस्यले भने। दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समिमिको ठहर छ। समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए। अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए।

जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए। जुन उनीहरुले लागू गरेनन्। तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको ठहर छ।

‘यताबाट जाँदा इन्धनको कारणले तौल सन्तुलित भए पनि पछि फर्कदा भने अगाडिको तौल बढी भयो, जसले अगाडितिर हेलिकप्टर हुत्तिने हुन्छ, यसले सेन्ट्रल अफ ग्राभेटी मिलाउन निकै कठिन भयो’ समिति सदस्यले भने। यही कारणले दुर्घटना नटरे पनि मानवीय क्षति रोक्न सकिने उनको विश्वास छ।

‘त्यहाँको अवस्था हेर्दा पाइलटले हेलिकप्टर पुनस् हेलिप्याडमा फर्काउन खोजेका थिए तर सकेनन् किन भने त्यहाँ तौलको सन्तुलन नै मिलेन हेलिकप्टर फर्केर फेरि ल्यान्ड गर्न सकेको भए अवस्था अर्कै हुनेथियोु उनले भने। काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो। सेतोपाटीबाट साभार गरिएको ।

यसैबीच तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ स्थापना भएको छ । प्रधानमन्त्री केपी ओलीले गत जेठ १८ गते शनिबार प्रतिष्ठानको घोषणा गरेका हुन् । पोखरा सभागृहमा आयोजित कार्यक्रममा उनले प्रतिष्ठानलाई राजनीतिका विवादित विषयबाट अलग राख्नुपर्नेमा जोड दिएका थिए । गैरनाफामूलक संस्थाका रूपमा रहने प्रतिष्ठानका लागि प्रधानमन्त्री ओलीले एक करोड रुपैयाँको कोष स्थापना गरिदिने घोषणा गरेका छन् ।

स्व. रवीन्द्र अधिकारी कुनै पनि विवादमा नपरेको, सरकारको सुखी नेपाली समृद्ध नेपाल निर्माण अभियानको वाहक र राष्ट्र, जनता समृद्ध बनाउने सपना बोकेको व्यक्ति रहेको उनले चर्चा गरे । अधिकारीको यो सपना साकार पार्ने काम अब प्रतिष्ठानले गर्ने प्रधानमन्त्री ओलीले विश्वास प्रकट गरे ।

स्व. अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अध्यक्ष, नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा र जिल्ला नेता दामोदर वैरागी उपाध्यक्ष, धनराज आचार्य महासचिव रहेको ३५ सदस्यीय स्मृति प्रतिष्ठान सञ्चालक समिति घोषणा गरिएको छ । त्यस्तै, ४१ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । प्रतिष्ठान विशुद्ध सामाजिक उद्देश्य बोकेर स्थापना भएको अधिकारीकी धर्मपत्नी भट्टराईले बताइन् । प्रतिष्ठानले प्राविधिक शिक्षा, विकासलाई राजनीतिसँग जोड्ने र अनुसन्धानात्मक काम गर्ने उनको भनाइ छ ।

पार्टीको विचार : जनताको बहुदलीय जनवाद
प्रधानमन्त्री ओलीले नेकपा विचारविहीन अवस्थामा नरहेको र अहिले पनि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नै पार्टीको स्पष्ट विचार रहेको स्पष्ट पारे । विश्वमा कम्युनिष्टहरू रक्षात्मक अवस्थामा रहेका वेला नेपालमा नयाँ विचार दिएर स्वर्गीय मदन भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याएको उनले बताए । ‘आज हामी यो ठाउँमा आइपुगेको यही विचार लिएर हो, हामी विचारविहीन छैनौँ, हाम्रो विचार जनताको बहुदलीय जनवाद नै हो,’ ओलीले भने ।

‘वाइडबडीमा अधिकारी निर्दोष’
प्रधानमन्त्री ओलीले तत्कालीन मन्त्री अधिकारी वाइडबडी खरिद प्रकरणमा निर्दोष रहेको दोहोर्‍याए । विगतमा आफूले अधिकारी निर्दोष छन् भन्दा न्यायाधीश बनेको भनिएको भन्दै प्रधानमन्त्रीले आक्रोश पोखे । ‘अदालतले दोषी नभन्दै दोषी भन्नेहरू न्यायाधीश कि दोषी नै नरहेको व्यक्तिलाई निर्दोष भन्ने म दोषी ?’ प्रश्न गर्दै ओलीले भने ।

उनले वाइडबडीमा अधिकारीलाई दोषी देख्ने र आफूलाई न्यायाधीश भन्नेहरूलाई ‘भुइँफुट्टा’को संज्ञा दिए । ‘केही भुइँफुट्टाहरू समिति बनाएको नाममा, वाइडबडीमा रवीन्द्र निर्दोष भन्ने प्रधानमन्त्री न्यायाधीश हो भन्दै छन्,’ उनले भने, ‘मलाई न्यायाधीश भन्ने र अधिकारीलाई दोषी देखाउन खोज्नेहरू भुइँफुट्टा हुन् ।’

प्रधानमन्त्री ओलीले वाइडबडी प्रकरणमा अघिल्ला सरकारले गरेका दोषको भारी रवीन्द्रमाथि बोकाउने प्रपञ्च रचिएको आरोपसमेत लगाए । ‘स्वर्गीय अधिकारी निष्कलंक, स्वच्छ छवि भएको र देशका लागि केही गर्नुपर्छ भनेर लागिपरेको व्यक्ति हो, पार्टीको एक जिम्मेवार नेता हो, एक वर्षको अवधिमा धेरै राम्रा र देखिने काम गर्नुभयो,’ प्रधानमन्त्रीले भने ।

‘सरकारले आधुनिक नेपाल निर्माण गर्न चाहेको छ’
प्रधानमन्त्री ओलीले सरकारले विकसित र आधुनिक नेपाल निर्माण गर्न चाहेको बताएका छन् । नेपाल स्काउटको प्रथम ‘राष्ट्रिय रोभर मुट’को शनिबार पोखरामा उद्घाटन गर्दै उनले नयाँ नेपाल निर्माणका लागि युवाहरूको साथ र सहयोग आवश्यक रहेको बताए । ‘स्काउटले दक्षता, योग्यता, अनुशासन र देशभक्तिपूर्ण भावना भएका युवा तयार गर्नुपर्दछ,’ प्रधानमन्त्रीले भने, ‘स्काउटले युवालाई कर्मवीर र राष्ट्रप्रति बफादार बनाउनुपर्दछ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया