सिल्क ग्रुपका प्रिन्स दाहाल तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय स्तरिय पुरुष एकलको क्वाटरफाईनल प्रवेश गरेका छन् ।बुधबार भएको प्रतियोगितामा सेनाका गोकुल जोरालाई २१–७, २१–९ को सोझो सेटमा पराजित गर्दै दाहाल क्वाटरफाईनल प्रवेश गरेका हुन् । प्रिन्सले क्वाटरफाईनलमा सेनाक पविन लिनथेपसंगको भेट पक्का गरेका छन् । पविनले रामेछापका टिकाराम मगरलाई २१–४, २१–६ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेका हुन् ।
नेपाल पुलिसका जीवन आचार्यले सिन्धुपाल्चोकका अभिषेक गुरुङ्गलाई २१–१३, २१–१० ले पराजित गर्दै क्वाटरफाईनलमा सेनाका रत्नजित तामाङ्गसंगको भेट पक्का गरेका हुन् । रत्नजित वाई पाएर सिदै क्वाटरफाईनल प्रवेश गरेका थिए ।चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१को आयोजनामा भएको प्रतियोगिता अन्तरगत आज भएको अन्य खेलमा सेनाका प्रफुल महर्जन, नविन श्रेष्ठ र रुकेश महर्जन तथा एपिएफका साजन कृष्ण ताम्राकारले पनि आआफ्ना प्रतिद्वन्दीलाई पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरे ।
प्रफुलले रुपन्देहीका डेभिड थापामगर माथि २१–१२, २१–११ले, नविनले एपिएफका प्रियान्सु सिंह क्षेत्री माथि २१–१७, २१–१४ ले, रुकेशले सेनाकै आयुष्मान नागरी माथि २१–१८, २१–१६ र साजनले एपिएफका निरञ्जन देवकोटा माथि २१–९, २१–१३ को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको प्रतियोगिता रेफ्रि किरण कारञ्जितले बताएका छन् ।कोरोनाका कारण प्रतियोगिताबाट बञ्चित राष्ट्रिय स्तरका खेलाडीहरुले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाईरहेका छन् । यस प्रतियोगितामा राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको छ ।
राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । ब्याडमिन्टनको ईतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो । यस्तै सेमिफाईनलिष्ट दुई जनाले जनही १०÷१० हजार प्राप्त गर्ने छन् ।







