काठमाडौँ, २३ असार/ संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा वंशीधर मिश्र, कतारका लागि डा नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि दावाफुटी शेर्पालाई अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित चार जना राजदूतको सुनुवाइ भएको र उहाँहरुको योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि नाम सर्वसम्मतिले अनुमोदन भएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयको पत्रबमोजिम नेपालको संविधानको धारा, २९२ को उपधार १ बमोजिम संसदीय सुनुवाइका लागि पठाइएकामा सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली–२०७५ को नियम २५ र २६ तथा समितिको कार्यविधि–२०७५ बमोजिम चार राजदूतको सुनुवाइपछि नाम अनुमोदित गरेको हो । मन्त्रिपरिषद्को गत जेठ २३ गते भएको बैठकले चार जनालाई प्रस्तावित राजदूतका लागि सिफारिस गरेको थियो ।
सरकारले राजदूतका लागि सिफारिस गरेका चारै जना राजदूतको आजै सुनुवाइ भएको थियो । सम्बन्धित देशका लागि प्रस्ताविज राजदूतले समितिसमक्ष आ–आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाई, लगानी भित्र्याउने, पर्यटन प्रवद्र्धन तथा श्रमिकका समस्या समाधानतर्फ योजनाबद्ध कार्य अघि बढाउने योजना सुनाउनुभएको थियो ।
कतारका लागि राजदूत अनुमोदित हुनुभएका डा भारद्वाज पुराना कम्युनिष्ट नेता हुनुहुन्छ । उहाँले तत्कालीन झापा विद्रोहमा सक्रिय भई १२ वर्ष जेल जीवन बिताउनुभएको थियो । तत्कालीन नेकपा (एमाले) का सल्लाहकार सदस्य तथा विदेश विभाग सदस्यसमेत रहनुभएका भारद्वाज अङ्ग्रेजी साहित्यका ज्ञाता र लेखकसमेत हुनुहुन्छ ।
अष्टे«ेलियाका लागि नेपाली राजदूत दाहाल नेपाल टेलिभिजनका पूर्वअध्यक्ष र नेपाल जेसिसका केन्द्रीय अध्यक्षसमेत भइसक्नुभएको छ । अनुसन्धान, तालीममा लामो अनुभव छ ।
त्यसैगरी स्पेनको राजदूतमा अनुमोदन हुनुभएका दावाफुटी शेर्पा प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाकी छोरी हुनुहुनछ । अमेरिकामा अध्ययन गरेर हालै नेपाल नेपाल हुनुभएका उहाँ पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्षसमेत हुनुहुन्छ ।
उनी प्रधानमन्त्री ओलीको कोटामा राजदूत सिफारिस भएकी हुन्। पासाङ ल्ह्यामुका देवर आङछिरिङ शेर्पासँगको सम्बन्धले प्रधानमन्त्रीले दावाफुटीलाई राजदूत सिफारिस गरेका हुन्।
२०३८ सालमा जन्मेकी दावाफुटी अमेरिकामा अध्ययन गरेर भर्खरैमात्रै नेपाल फर्किएकी हुन्। उनी पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष छन्।
‘राजदूत भनेपछि कपाल फुलेको मानिसको तस्बिर आउँछ। तपाईं त भर्खरको हुनुहुन्छ, जिम्मेवारी कसरी पूरा गर्नुहुन्छ,’ भन्ने एक सांसदको प्रश्नको जवाफमा दावाफुटीले आफूसँग अनुभव नभए पनि अग्रजहरूबाट सिक्दै जाने जवाफ दिएकी थिइन्।






