प्रचण्डको दोहोरो खेल : कांग्रेसले बलियो आधार नदिए एमालेसँग मिल्ने पक्का

काठमाडौ / नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरू चुनावी एकताका लागि लगातार संवादमा रहेको खुलेको छ । दोस्रो तहका केहि नेताहरू मध्यरातसम्म चुनाबी गठबन्धन लागि भन्दै बैठक बसिरहेको खुलेको हो । यता गठबन्धनमै रहेर चुनावमा सिटको भाग मागिरहेको माओवादी पनि एमालेसँग गठबन्धनका लागि निरन्तर प्रयासमा छ ।

एमालेकै नेताहरूले पनि उनीहरू माओवादीसँग संवादमा रहेको स्वीकार गरेका छन् । यसको छनक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठकमा दिएका थिए । गठबन्धनको बैठकमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री देउवाको प्रस्तावपछि प्रचण्ड सधैभन्दा फरक शैलीमा प्रस्तुत भएका थिए । उनले आफू प्रेसरमा भएको बताउँदै कांग्रेसले बलियो आधार नदिएको खण्डमा एमालेसँग मिल्ने पक्का भैसकेको आसय दिएका थिए । ‘चुनावी गठबन्धनलाई तपाईंहरूले एकदम हल्का रुपमा लिनुभयो, अहिले पनि माओवादीका केहि साथीहरू एमालेसँग छलफलमै हुनुहुन्छ । मैले पनि पार्टीलाई विश्वासिलो आधार दिनैपर्छ । कांग्रेसका नेताहरूले हल्का रूपमा लिएको कुराले म एकदमै प्रेसरमा छु ।’ प्रचण्डले बैठकमा भनेका थिए ।

बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधारको ग्यारेन्टी मागेका छन् । उनले यदि विश्वासिलो आधारको ग्यारेन्टी नभएको खण्डमा एमालेसँग गठबन्धन गर्न आफू बाध्य हुने बताएका थिए । ‘गठबन्धन सही तरिकाले अगाडी नबढ्ने हो भने मैले नचाहँदा नचाहँदै पनि एमालेसँग गठबन्धन गर्नुपर्ने हुनसक्छ ।’ प्रचण्डले बैठकमा भनेका छन् ।

त्यतिमात्र होइन फरक शैलीमा बैठकमा प्रस्तुत भएका प्रचण्डले कांग्रेसलाई चेतावनी दिंदै यस्तो भएको खण्डमा कांग्रेस नै अफ्ठ्यारोमा पर्ने बताएका थिए । प्रचण्डले बैठकमा भनेका थिए, ‘विश्वासिलो आधारको ग्यारेन्टी भएन भने मैले त बाध्यताले एमालेसँग तालमेल गर्नुपर्छ । तपाईंहरु नै अप्ठ्यारोमा पर्नुहुन्छ ।’

बैठकमा प्रचण्डले देउवालाई चेतावनी दिएपनि देउवाले भने कुनै प्रतिक्रिया नदिएको स्रोतको दाबी छ । प्रचण्डले अहिले पनि आफूहरू एमालेसँग संवादमा रहेको समेत बैठकमा खुलाएका थिए । उनले रातभर बैठक हुनेगरेको भन्दै माओवादी केन्द्र र एमालेका केहि नेताहरू निरन्तर संवादमा रहेको बताएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया