प्रचण्डको ‘अन्तिम पटक’ प्रधानमन्त्री बन्ने इच्छा, कांग्रेसले सहयोग नगरे गठबन्धनमा असहयोग गर्ने चेतावनी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको अनुभवलाई समीक्षा गरेर आगामी प्रदेश र संघको निर्वाचनमा देशमा दोस्रो राजनीतिक शक्ति बन्ने दाबी गरेका छन् ।

शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोस्रो शक्ति बनाउने गरी नेपाली कांग्रेसले सहयोग नगरे गठबन्धनमा सहयोग नगर्ने चेतावनी दिए। अध्यक्ष दाहालले नेत्रविक्रम चन्द, मोहन वैद्य र पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराई माओवादी नभएको दाबी गरे। उनले गत स्थानीय तहको निर्वाचनले नेपालमा रहेको एकमात्र माओवादी (माओवादी केन्द्र) मात्रै रहेको जिकिर गर्नुभयो। दाहालले भने, ‘‘माओवादी भनेको माओवादी केन्द्र मात्रै हो। अरुमाओवादीको अर्थ छैन भन्ने कुरा यो पटकदेखि प्रमाणित भयो। किरण माओवादी काम छैन अब, विप्लव माओवादी पनि अब अर्थ छैन। बाबुराम त माओवादी नै होइनन्। तिनको हिसाब नै भएन।’’

अध्यक्ष दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्। उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे। उनले भने, ‘‘मलाई भन्नुहुन्छ भने यो मेरो ‘लास्ट इनिङ’ होस्। यो ‘लास्ट इनिङ’मा पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले आफ्नो लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनु र देशको विकास र समृद्धि कसरी हुन्छ भन्ने कुरा देखाउनु प्रमुख लक्ष्य रहेको उल्लेख गरे। उनले आफ्नो ‘लास्ट इनिङ’ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना बुनेको बताए।

अध्यक्ष दाहालले समाज भत्काउने प्रतिगमनकारीले राजनीतिमा बुढापाका चाहिँदैन भन्ने गरेको उल्लेख गर्दै त्यसलाई पराजित गर्न आवश्यक रहेको बताए। उनले अहिलेको गठबन्धन चुनावसम्म पनि कायम रहने र कुनै समाजवादी केन्द्र नबन्ने उद्घोष गरे। उनले आगामी प्रदेश र संघको निर्वाचनमा मान्छे हेरिहेरि टिकट बाँड्न पाइने भएकोले निर्वाचनमा टिकट वितरण गर्न गाह्रो नरहेको उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया