राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रहि उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बि.क.ले एक कार्यक्रमका विच कार्कीलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाई तथा सम्मान गरेका थिए । यस्तै कार्कीलाई पौडीपोखरीका प्रमुख एवं कार्यक्रमका सभापती टार्जन सुब्बाले अविर र राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्र राईले माला लगाएर बिदाई गरेका थिए । बिदाईका क्रममा बोल्दै प्रमुख अर्जून बि.क.ले कार्कीले पौडी खेलको बिकासमा गरेको योगदानको चर्चा गर्दै उमेरहदका कारण अनिवार्य अवकास भएता पनि कार्कीले खेल क्षेत्रलाई अझ सहयोग प्रदान गरिनै रहने र पौडी तथा खेल क्षेत्रको विकासमा अनवरत लागीनै रहने बिश्वास ब्यक्त गरे ।
नायब बरिष्ठ पौडी प्रशिक्षक कार्की उमेरहदका कारण आईतबार सेवानिवृत्त भएका हुन् । कार्कीलाई नायव बरिष्ठ पौडी प्रशिक्षक एवं पूर्व प्रमुख प्रशिक्षक वाङ्गदेन लामाले दोसल्ला ओढाएर सम्मान गरेका थिए । यस्तै प्रमुख प्रशिक्षक शंकर कार्की, प्रशिक्षक द्वय रत्न महर्जन र नयना शाक्यले मायाको चिनो प्रदान गर्दै तथा बासुदेव निरौलाले माला लगाई बिदाई तथा सम्मान गरेका थिए ।कार्यक्रमममा तालिम तथा प्रशिक्षण विभाग, खेलकुद बिज्ञान प्रतिष्ठान, निर्देशक, उपनिर्देशक, विभन्न खेलका प्रमुख प्रशिक्षक, प्रशिक्षक र कर्मचारीहरुले कार्कीलाई अविर तथा खादा लगाई सम्मान गरेका थिए ।
भारतको नेताजी सुभाष चन्द्र बोस स्पोर्टसस् ईन्स्टिच्युटबाट १९९० मा स्पोर्टस्मा डिप्लोमा गरेका कार्की २०५० सालमा पौडी प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्मा प्रवेश गरेका थिए । २०६३ मा नायव बरिष्ठ पौडी प्रशिक्षकमा बढुवा भएका कार्की २०५७ देखि २०७१ सम्म पौडीका प्रमुख प्रशिक्षक रहेका थिए ।
२०३८ सालमा भएको प्रथम राष्ट्रिय खेलकुदमा पौडी खेलाडीको रुपमा खेल क्षेत्रमा प्रवेश गरेका कार्की १९८२ मा दिल्लीमा आयोजना भएको नवौं एशियाली खेलकुदमा खेलाडीका रुपमा सहभागी भएका थिए । यस्तै काठमाण्डौमा १९८४ मा आयोजना भएको प्रथम दक्षिण एशियाली खेलकुदमा ४ गुणा १०० मिटर मिड्ले रिलेमा कास्य पदक प्राप्त गर्न सफल भएका थिए ।
८ औं र १३ औं दक्षिण एशियाली खेलकुदमा पौडीबाट नेपालका लागि स्वर्ण पदक दिलाउन कार्कीको ठुलो भूमिका रहेको छ । यस्तै नेपालमा उत्कृष्ट पौडी खेलाडी उत्पान गर्न कार्कीको निकै ठुलो योगदान रहेको छ । पौडी प्रशिक्षकका रुपमा विभिन्न देशको भ्रमण गरेका कार्कीले एशिया प्यासेफिक पौडी प्रतियोगितामा प्रशिक्षण प्रदान गरि नेपाललाई पदक दिलाउन सफल भएका थिए । उनले रियो ओलम्पिक –२०१६ मा प्रशिक्षकका रुपमा सहभागिता जनाउनुका साथै विभिन्न बिश्व पौडी प्रतियोगितामा प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए ।







