बर्दिया, २५ असार /पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ ।
मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए ।
घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताउनुभयो
गोली हानाहानमा दुईको मृत्यु, एक घाइते
भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका ओखलढुङ्गा इञ्चार्ज निरकुमार राईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिनुभयो ।
घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते हुनुभएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गोली लाग्नसाथ अस्पताल लगिएका दुवैलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यो घटनापछि सदरमुकाममा सुरक्षा व्यवस्था कडा पारिएको छ । निरन्तर वर्षा भइरहेकाले अनुसन्धानमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।







