काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा गोली चलेको छ । अज्ञात समूहको गोली प्रहारबाट एकजना घाइते भएका छन्। गोली लागि घाइते हुनेमा लालबन्दी नगरपालिका १ नवलपुरका ३० वर्षीय जयनाथ महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ब्रह्मस्थानको मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनाको समूहले महतोमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार महतोको दाहिने हातमा गोली लागेको छ । गोली कसले र किन प्रहार गरेको हो त्यो अहिलेसम्म खुल्न सकेको छैन। हतियारधारी समूह गोली प्रहार गरी जंगलको बाटो हुदैं पूर्वतर्फ भागेको स्थानीयले बताएका छन्। घाइते महतोको नवलपुरमा समान्य उपचार पश्चात थप उपचारको लगि वीरगन्ज पठाइएको राठौरले बताए। यसअघि गत ५ गते सर्लाहीको लालबन्दीमै प्रहरीले गोली हानेर नेकपा सर्लाहीको इन्चार्ज कुमार पौडेलको हत्या गरेको थियो ।
उक्त हत्याको विरोध नेकपाले असार १० गते नेपाल बन्द समेत गरिसकेको छ । उक्त हत्यापछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले देश र जनताबिरोधीहरुसँग क्रान्तिको प्रक्रियामा बदलालिने प्रतिबद्धता समेत दोहोर्याएका छन् । महासचिव विप्लवले राज्य आतंक, जन दमन र राष्ट्रघातका बिरुद्ध सम्पूर्ण कम्युनिष्ट, क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आव्हान समेत गरेका छन् ।
उक्त हत्याको नेकपासहित नेपालका अन्य कम्युनिष्टपार्टी र सत्तापक्षकै नेता कार्यकर्ताहरुले चर्को बिरोध गरिरहेका छन् । सोमबार मात्रै नेकपा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याबारे बुझ्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री रामबहादुर थापालाई बादल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सोमबार छलफलमा समेत बोलाएको थियो। सुशासन समितिले सर्लाहीमा प्रहरीको गोली लागि मारिएका कुमार पौडेलको हत्या सम्बन्धमा छानबिन गरी एक साताभित्र प्रतिवेदन बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादललाई घटना शंकास्पद रहेको भन्दै छानबिन गर्न निर्देशन दिएको हो । बैठकमा गृहमन्त्री थापाले प्रहरीको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गरे पनि सांसदहरुले उनको दाबी पत्याएनन् । समितिले पौडेल मुठभेडमा मारिएको सरकारी दाबीमा आशंका गर्दै गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएको हो । छलफलमा भाग लिनेमध्ये अधिकांश सांसदले पौडेलको गैरन्यायिक हत्या भएकाले छानबिन माग गरे । त्यसरी जसलाई भेट्यो उसैलाई गोली हान्न थालिए मुलुकमा लोकतन्त्र र मानवअधिकार संकटमा पर्ने भएकाले पौडेल हत्याबारे सत्थतथ्य बाहिर ल्याउन माग गरे । त्यसमध्येकी एक थिइन्, सत्तारुढ नेकपाकै सांसद तीर्था गौतम । त्यहाँ आफ्नो धारणा राख्ने क्रममा नेकपा सांसद तीर्था गौतम भक्कानिएकी थिइन ।
भक्कानिँदै सांसद गौममले गृहमन्त्री थापालाई पुरानो इतिहास सम्झन आग्रह गर्नि । सांसद गौतमले भनिन्, ‘आज एउटा नेपालीको छोरो मरेको छ, त्यो नेपाली भोलि यो देशलाई पनि काम लाग्न सक्ने मान्छे हो । सपुत हो । हामीले यस्ता चिजहरु गर्दा पुरानो इतिहास सम्झौं । स्मरण गरौं । देशलाई कता लान्छौं ? यो विषयमा हामी गम्भीर हुन जरुरी छ ।’ संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसद तिर्था गौतम रोएकी छन् ।
उनले पक्राउ गर्न सकिने अवस्था हुँदाहुँदै पौडेललाई किन हत्या गरेको भन्दै प्रश्न गरेकी थिइन् । यस्ता घटनाले मुलुक पुनः द्वन्द्वमा फस्ने भएकाले घटनाका दोषीमाथि कारबाही गर्न र आउँदा दिनमा त्यस्ता घटना हुन नदिन सतर्क रहन आग्रह गरिन् । ‘पक्राउ गर्ने अवस्था हुँदाहुँदै मान्छे समातेर गोली हान्न थालियो भने मुलुक कता जान्छ ?’, उनले गृहमन्त्रीतर्फ लक्षित गर्दै प्रश्न गरिन् । बोल्ने क्रममा सांसद गौतमको झण्डै एक मिनेटजति गला अवरुद्ध भयो ।
नेकपा कार्यकर्ताको मृत्यबारे छलफलमा सहभागी बनेकी सांसद तीर्था गौतम आफैँ द्वन्द्वपीडित हुन् । तीर्थाका श्रीमान एवं रुकुमका एमाले नेता यदु गौतमको ०५५ साल फागुन २१ गते विद्रोही पक्षले हत्या गरेको थियो । तत्कालीन समयमा नेकपा एमाले रुकुमका सचिव तथा प्रतिनिधि सभा निर्वाचनमा रुकुम क्षेत्र नम्बर २ का उम्मेदवार रहेका गौतमलाई आम निर्वाचनको प्रचार–प्रसारका बेला रुकुमको गरायला गाविसमा हत्या भएको थियो ।
निर्वाचन नहुँदै यदु गौतमको हत्यापछि श्रीमती तीर्था गौतम उम्मेदवार भई विजयी भएकी थिइन् । सोमबार संसदीय समितिको बैठकमा सांसद गौतमले त्यो जनयुद्धको घाउको खाटा मरिनसकेको उल्लेख गरिन् । त्यस्तै नेकपाप्रभावशाली नेता एवं सांसद जनार्दन शर्माले सर्लाहीमा प्रहरीको जवाफी कारबाहीमा मारिएका भनिएका प्रनेकपामा जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सोमबार गृहमन्त्री रामबहादुर थापा बादललाई पौडेल हत्या प्रकरणलाई लिएर ¥याख्¥याख्ती पारे । उनले गृहमन्त्री र प्रहरीको दाबीमाथि विश्वास गर्ने आधार नरहेको बताए । जनताले घटनाबारे अर्कै सूचना दिएकाले जनताको सूचनामा भर परेर दोषीमाथि कारबाही गर्न उनले माग गरे । ‘कुमार पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्दै विश्वास छैन’, शर्माले प्रश्न गरे, ‘भिडन्तमा मारिएको मानिसको हात ६–७ ठाउँमा कसरी भाँचिन्छ ?’ मानवअधिकारको रक्षा गर्नुपर्ने सरकार नै नक्कली भिडन्त खडा गरेर गैरन्यायिक हत्यातर्फ उन्मुख भएको भन्दै आपत्ति जनाए ।
उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिए ।फरक प्रसंगमा शर्माले विप्लवमाथि प्रतिबन्ध गलत भएकाले सरकारले फिर्ता लिनुपर्ने जिकिर पनि गरे । सोही बैठकमा गृहमन्त्री थापाले भने मोटरसाइकलमा रहेका चार जनाले गस्तीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी फायर गरेको र प्रहरीले जवाफी कारबाही गर्दा पौडेलको मृत्यु भएको जवाफ दिएका छन् । तर गृहमन्त्रीको जवाफ कसैले पत्याएनन् ।







