देउवाले खुल्ला कार्यक्रमबाटै पूर्वराजा ज्ञानेन्द्रलाई दिए यस्तो चेतावनी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह वर्तमान व्यवस्थाको विरुद्धमा लागेको भन्दै त्यसो नगर्ने चेतावनी दिएका छन् । उनले शासन गर्न मन भएर चुनाव लडेर आउन पनि उनले चुनौती दिएका छन् ।गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले पूर्वराजा शाहतर्फ इंगित गर्दै भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो ।

हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए ।प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन् । त्यसकारण अगाडि बढे भइहाल्यो नि ।

मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’नेपालमा अहिले सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको देउवाको भनाइ थियो । ‘अहिले सबैभन्दा राम्रो संविधान छ । समावेशी, समानुपातिक छ । सबैलाई अटाएको छ ।

केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ,’ उनको भनाइ थियो । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराएका थिए ।निर्वाचन आयोगले वडादेखि नै गराउने चुनाव निष्पक्ष र धाँधलीरहीत हुनुपर्ने देउवाको भनाइ थियो । उनले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको पनि बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन । जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ । त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो ।यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँदली गर्न नसकोस् । बदमासी गर्न नसकोस् । त्यसैले निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ ।

कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन ।’ निर्वाचन आयोग आफ्नो नीतिअनुसार हिँड्नुपर्ने देउवाको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया