काठमाडौँ– विप्लव नेतृत्वको नेकपा माओवादीले संखुवासभामा राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बसिरहेका बेला प्रहरीले गोली प्रहार गरेको बताएको छ। प्रवक्ता खड्गबहादुर विश्वकर्माले साँझ विज्ञप्ति जारी गरी गृह प्रशासनले प्रहरी परिचालन गरी शान्तिपूर्ण कार्यक्रममा दमन गरेको जनाएका हुन्।
सिलिचुङ गाउँपालिका-१ मा सोमबार विप्लव माओवादीले गोली हानेपछि जवाफी फायरिङ गरेको प्रहरीले दाबी गरेको थियो। विप्लव समूहले विज्ञप्तिमा आफूतर्फबाट गोली चले नचलेकोबारे खुलाएको छैन।

विज्ञप्तिमा यस्तो खालको दमन बन्द नगरे प्रतिरोध गर्ने चेतावनी पनि दिइएको छ। ‘सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामाथि केपी ओली–बादल गृह प्रशासनले तीव्र प्रहरी दमन गरेको छ। एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता–कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने सरकारको कार्य निन्दनीय छ।’

जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीसमेत सोमबार त्यहाँ गस्तीमा गएका थिए। गस्तीमा जाँदा दोहोरो फायरिङ भएको प्रहरीले जनाएको थियो। विप्लव समूहलाई नियन्त्रणमा लिन त्यहाँ सेनाको हेलिकप्टरबाट थप टोलीसमेत खटाइएको छ।







