काठमाडौँ, नेपाल सरकारको निर्णय बमोजिम चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा प्रधानसेनापति पूर्णचन्द्र थापा असार १ गते छिन् भ्रमणमा निस्किने भएका छन् ।
यस भ्रमणमा थापा श्रीमती दिपा थापा तथा कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना जाने भएका छन् । प्रधानसेनापतिको नियुक्ति पश्चात् मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा पहिलो पटक हुन लागेको चीन भ्रमण हो ।
एयर चाइनाको फ्लाईटद्वारा आईतबार उनीहरु काठमाण्डौबाट चीनको छेङ्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यस भ्रमणमा थापा चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
साथै थापाको उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ । नेपाली सेनाले लिएको विज्ञप्तिमा यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास उल्लेख गरिएको छ ।
भ्रमण सम्पन्न गरी उनीहरु असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।







