काठमाडौँ, प्रहरीले अराजक गतिविधि गरेको आरोपमा विभिन्न स्थानबाट पक्राउ गरेको प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लब) का ४ कार्यकर्तालाई आज रिहाइ दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पार्टीको कुनै पनि जिम्मेवार तहमा रहेर अराजक गतिविधि नगर्ने र बाँकी जीवन स्वतन्त्ररुपले यापन गर्ने भनी जिल्ला प्रशासन कार्यालय झापामा उनीहरुले दिएको निवेदनको आधारमा उनीहरुलाई रिहा गरिएको हो ।
ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय विजय दर्नाल, बुद्धशान्ति गाउँपालिका–२ का ३८ वर्षीय गणेश विश्वकर्मा, ताप्लेजुङ फत्तालुङ गाउँपालिका–२ का ३० वर्षीय विदुर शेर्पा र सोही गापाका २८ वर्षीय फुर्वा शेर्पालाई प्रहरीले आज रिहा गरेको हो ।
उनीहरुलाई मुख जिल्ला अधिकारी जनकराज दाहाल, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतको रोहबरमा रिहाइ गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले बताएका छन् ।
रिहाई लगत्तै विज्ञप्ती मार्फत उनीहरुले नेकपा(विप्लव) नेतृत्व समूह परित्याग गरेको घोषणा गर्दै आजै नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
उनीहरुलाई अबिर, खादा लगाई अध्यक्ष पाठक, जिल्ला कमिटी सदस्य चन्द्रा श्रेष्ठ, असारु राजवंशी, मोहन विश्वकर्मा लगायतका नेताले पार्टीमा स्वागत गरेका छन् ।







