चार वर्षमा पनी बनेन आदी पुल

file photo

चितवन, २७ फागुन (रासस) ः भरतपुर महागनरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने पुल निर्माण सम्झौता गरिएको चार वर्ष बितिसक्दा पनि ४५ प्रतिशत मात्र काम भएको छ । सरकारी कर्मचारीको उदासिनता र ठेकेदार कम्पनीको बेवास्ताका कारण पुल निर्माणमा ढिलाइ भएको हो ।

विसं २०७१ कात्तिक १९ गते रु १६ करोडको लागतमा ठेक्का दिइएकोमा पछि नक्साङ्कन संशोधन (डिजाइन रिभ्यू) पछि लागत बढेर रु २१ करोड ६८ लाख पुगेको थियो । पुल शिलान्यासको तीन वर्षमा काम सम्पन्न गर्नुपर्नेमा विभिन्न कारण देखाउँदै समय थप गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका निमित्त प्रमुख गिताञ्जली कोइरालाका अनुसार थपिएको समय आउँदो वैशाख ९ गते सकिँदैछ । तर, हालसम्म ४५ प्रतिशत मात्र काम भएको उहाँले बताउनुभयो । कोइरालाले नक्साङ्कन संशोधनमा १८ महीना लागेको, भूकम्पले छ महीना काम गर्न नसकेको र नाकाबन्दीका कारण तीन महीना ढिला भएको बताउनुभयो । थपिएको समय सकिनलाग्दा र ठेक्कापछि नक्साङ्कन परिवर्तन गरी रकम थप गर्दा पनि काम हुन सकेको छैन ।

इलाइट, एड्भेन्जर र इन्द्रेणी जेभी गरी तीन कम्पनी मिलेर संयुक्तरूपमा पुल निर्माणको जिम्मेवारी लिएका छन् । ठिमुरा र देवघाटलाई जोड्ने पुललाई विशेष पुलका रूपमा लिइएको छ । ठिमुरा–देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिका उपाध्यक्ष टङ्कनाथ पौडेलले पर्याप्त बजेट र प्राविधिक कठिनाइका कारण समयमा पुल बन्न नसकेको बताउनुभयो । सम्बन्धित निकायलाई घचघच्याउने काम भइरहेको भए पनि शुरुमा ढिला गरी काम शुरु भएको र बीचबीचमा रोकिएको उहाँले बताउनुभयो ।

सो ठाउँमा ‘पिस्ट्रेस्ड कङ्क्रिट ब्रिज’ चार ‘स्पान’ राखेर बनाइँदैछ । पुलमा ४० मिटर लम्बाइका तीन क्रङ्किट स्पान बनाइनेछ । पुलको प्रमुख भाग ८० मिटर लामो स्टिलको ट्रस्ट संरचनासहित बनाउन लागिएको छ । सबै स्पान गरी पुल २०० मिटर लामो बन्ने जनाइएको छ । पुलको माथिको बिम र स्ल्याबको काम बाँकी छ ।

गाउँगाउँमा प्रहरी
पूर्वी चितवनमा प्रहरीको उपस्थिति कमजोर भएको गुनासो बढेपछि गाउँगाउँमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले ‘थ्री एस’ अभियानअन्तर्गत दैनिक ६० भन्दा बढी प्रहरी एकै क्षेत्रमा परिचालन गरेको छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय तहका प्रहरी र जिल्लाबाट खटिएका प्रहरीले अवाञ्छित क्रियाकलाप गर्नेको खोजतलास गर्ने, शङ्का लागेकालाई नियन्त्रणमा लिने र सोधपुछ गरी दोषीलाई कारवाही गर्दै आएको छ । यही अभियानलाई प्रहरीले ‘सर्च, स्विइप एण्ड स्क्रिनिङ’ अर्थात् थ्री एस नामकरण गरेको छ । विगत पाँच दिनदेखि प्रहरीले रत्ननगर, खैरहनी, राप्ती र कालिका नगरपालिका क्षेत्रमा अभियान सञ्चालन गरेको हो ।

गाउँमा आपराधिक क्रियाकलाप गरी लुकीछिपी बस्नेहरु अभियानको निसानामा परेका छन् । जुवातास खेल्ने, लागुऔषध एवं मादक पदार्थ सेवन गर्ने, चेलीबेटी बेचबिखन गर्ने पक्राउ परेको राठौरले बताउनुभयो । सो क्षेत्रमा पछिल्लो समय हत्या, आक्रमणजस्ता घटना हुन थालेपछि प्रहरीले विशेष निगरानीका साथ अभियान चलाएको उहाँले बताउनुभयो । –––

फेसबुकबाट तपाईको प्रतिक्रिया