काठमाडौं । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम अन्तिमअन्तिम चरणमा पुगेको छ । सार्वजनिक नतिजाअनुसार मुलुकका ७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै जितेर नेपाली काँग्रेस पहिलो र एमाले दोस्रो बनेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा २ महानगर, ७ उपमहानगरसहित सबैभन्दा धेरै स्थानीय तह जितेको एमालेले यो पटक महानगरमात्रै होइन उपमहानगर पनि गुमाउनु परेको छ ।
६ महानगरमध्ये काठमाडौँ र पोखरा यसपटक पनि दोहोर्याउन एमालेले आफ्नो पुरै शक्ति लगाए पनि परिणाम एमाले आँकलन विपरित आएको छ । वैशाख ३० को मतदान हुनुभन्दा केही दिन अघि मात्रै एमाले महासचिव शंकर पोखरेलले मूलधारे मिडियाका सम्पादकहरूलाई नयाँ बानेश्वरमा बोलाएर एमाले एक्लै चुनाव लडेर पनि नतिजामा चमत्कार गर्ने बताए थिए । उनले सम्पादकहरूको प्रश्नमा भनेका थिए, ‘ सङ्ख्या भन्न नलगाउनुस् तर यसपटक एमालेले महानगर र उपमहानगरमा चमत्कार गर्छ ।’
धरानबाहेक पनि इटहरी, जितपुरसिमरा, हेटौँडा, बुटवल, घोराही र तुलसीपुरको प्रमुख जितेको एमालेले यो पटक घोराहीबाहेक अरू उपमहानगर गुमाइसकेको छ । यद्यपि तुलसीपुरको मतगणनामा एमाले अगाडि नै छ । यो उपमहानगरमा काँग्रेसले एमालेलाई पछ्याइरहेको छ । यदि एमालेले तुलसीपुर जिते पनि अव २ उपमहानगरमा उसले चित्त बुझाउनुपर्ने छ ।
२०७४ मा एमालेले कब्जा गरेको इटहरीमा काँग्रेसका हेमकर्ण पौडेलले बाजी मारिसका छन् भने, धरानमा स्वतन्त्र उम्मेदवार हर्कराज राईले दलहरूका उम्मेदवारलाई हराएका छन् । धरानमा एमाले तेस्रो भएको छ भने इटहरीमा दोस्रो भएको छ । त्यस्तै जीतपुरसिमरामा माओवादीका राजन पौडेलले जित निकाल्दा एमाले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भएको छ । त्यस्तै हेटौडा उपमहानगर एमालेबाटै छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीको पोल्टामा पुग्दा एमाले यहाँ पनि दोस्रो स्थानमा पुगेको छ ।







