काठमाठौँ बाट पाँच महीनादेखि हराएका १२ वर्षीय बालक सुरेश शाही भेटिए !

पाँच महीनादेखि काठमाठौँ मण्डिखाटारबाट सम्पर्कविहीन तिला गाउँपालिका– ४ जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही भेटिएका छन् । बालक सुरेश आज काठमाडौँ नयाँ बसपार्क बालाजुस्थित न्यू पर्वत फिस्टेल गेष्ट हाउस एण्ड रेष्टुरेन्टमा भेटिएका हुन् ।
खोजतलासको क्रममा उनलाई होटलमा काम गर्दै गरेको अवस्थामा भेटाइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज महिला तथा बालबालिका सेवा केन्द्र काठमाडौँका प्रहरी निरीक्षक अनिता महतले राससलाई जानकारी दिनुभयो ।

दुई वर्षदेखि बूढानीलकण्ठ नगरपालिका–९ मण्डिखाटार काठमाडौं निवासी बलराम विष्टको घरमा बस्दै आएका बालक सुरेश गत फागुन २३ गते हराएका थिए । राससले यही असार १९ गते बिहीबारका दिन ‘पाँच महीनादेखि बालक सम्पर्कविहीन’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो ।
समाचार प्रकाशन भएपछि बालक शाहीको खोजतलासका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जसहित टेकू परिसर काठमाडौँलाई प्रहरी परिचालन गर्न निर्देशन दिइसकेको गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राससलाई जानकारी दिनुभएको थियो ।

गृह मन्त्रालयको निर्देशनपश्चात् मातहतका सुरक्षा निकायहरुले खोजतलासकार्य व्यापक बनाएका थिए । समाचार प्रवाह भएको ११ दिनपछि प्रहरीले उनलाई होटेल मालिकले बालश्रममा लगाएको अवस्थामा भेटाई त्यहाँबाट उद्धार गरेर आज महाराजगञ्जस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा सुरक्षित राखिएको जनाएको छ ।

रासससँग कुरा गर्दै प्रहरी निरीक्षक महतले भेटिएका बालक सुरेश शाहीका आफन्तलाई आजै जानकारी दिएर चाँडो सम्पर्कमा आउन अनुरोध गरिएको बताउनुभयो । पाँच महीनादेखि उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नपाएका सुरेशका आमा राज्यलक्ष्मी र बुबा गोरबहादुर शाहीले छोरा भेटाएको खबर पाउँदा खुशीको सीमा नरहेको बताउनुभयो । ९तस्बिर उपलब्ध छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया