काठमाडौँ, सोमबार बेलुका काभ्रेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका- ८ स्थित गैरापाटीमा उक्त दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा नमोबुद्ध नगरपालिका- ८ का ६० वर्षीय रामशरण अधिकारी रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी दिपक गिरीले बताएका छन् ।
डीएसपी गिरीका अनुसार खानेपानी राखेको बिजुलीको ट्रान्समिटरमा फ्युज राख्ने क्रममा करेन्ट सर्ट भई उनको मृत्यु भएको हो । उनले भने, ‘ पानी तात्ने ट्रान्समिटरमा फ्युज गएछ, प्राविधिकलाई खबर गर्दा समेत कोही नआएपछि बेलुका आफैले फ्युज राख्ने क्रममा ट्रान्समिटरमा टाँसिएर अधिकारीको मृत्यु भएको हो । ‘
सधैँजसो बत्तीमा समस्या आइरहने भन्दै नमोबुद्ध नगरपालिकाका स्थानियले गत हप्ता नगरपालिकामा जुलुससहित बत्तीको मर्मत सम्भारका लागि ज्ञापनपत्र बुझाएका थिए ।
नगरपालिकाले कुनै चासो नदेखाएकै कारण यस दुर्घटना भएको स्थानियको भनाई छ । मृतकको शव पोस्टमार्टमको लागी शीर मेमोरियल अस्पताल बनेपा ल्याइएको छ ।
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एवं सूचना अधिकृत दिपक गिरीले जानकारी दिएका छन् ।







