ओली सरकारलाई नेकपाको काउन्टर, सुदूरपश्चिमका अधिकांश स्थानीय निकायमा एकसाथ तालाबन्दी

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीने सुदूरपश्चिमका नगरपालिका, गाउँपालिका र वडा कार्यालय गरी करिब ६ दर्जनबढी सरकारी कार्यालयमा तालाबन्दी गरेको छ । ओली सरकारको दमनबिरुद्ध संघर्षरत नेकपाले आइतबार पश्चिम कमाण्ड अन्तर्गतका सबै जिल्लाका स्थानीय निकायमा तालाबन्दी गरेको हो । आइतबार बिहान ११ बजेसम्म कैलालीका ४५, कंचनपुरका २२, डडेलधुराका ६, अछामका १२, दार्चुला, १३ र बैतडीमा ७ वडा स्थानीय निकायमा तालाबन्दी गरिएको छ ।

देशमा सामाजिक भ्रटाचार बढदै गएको, बर्तमान सरकार जनताको सरकार नभई दलाल र पुजिबाद्को सरकार भएको, आफ्ना निदोर्ष कार्यकर्तालाई पक्राउ गरी बिनाकारण मुद्धा लगाएको र जताको पक्षमा वकालत गरीरहेको आफ्नो पार्टिलाई प्रतिबन्ध लगाएको भन्दै त्यसको बिरुद्धमा सुदूरपश्चिमका सबै स्थानीयतहमा तालाबन्दी गरिएको नेकपा केन्द्रीय सदस्य केन्द्रीय मुकेशले संचारकेन्द्रलाई बताए ।

‘दलाल सत्ताले स्थानीय स्तरमा एकातिर जनतालाइ अचाकली करको भारी बोकाएको छ भने अर्कोतिर बिदेशी रीननको बजेटमा आफै जनप्रतिनिधि आफै ठेकादार बनी भ्रष्टाचारलाई नीतिगत रुपमै संस्थागत गरेको छ।’ उनले भने – ‘देशमा प्रतिबन्धको सुरुङ्गबाट युद्ध लाद्ने खेलमा सत्ताधारीहरु अगाडी बढिरहेका छन्। त्यसकै काउन्टरमा चेतावनीस्वरुप संघर्षको यो रुप अपनाइएको हो । आज हामीले सबै स्थानीय निकायमा तालाबन्दी गरेका छाै‌ ।’

यस्तै नेकपाले कञ्चनपुरका २२ वटै स्थानीय तहमा तालाबन्दी गरेका छन्। पार्टीको सेती महाकाली व्यूरोको नाम बाट तालाबन्दी गरिएका कार्यालय अगाडी संसदीय व्यवस्था अन्त्य र सरकार खारेजीको माग गरिएका पर्चा समेत छाडिएको छ। नेकपा कञ्चनपुर इन्चार्ज अर्जुनका अनुसार नौ वटै नगरपालिका र १३ वटा वडा कार्यालयमा कार्यालयमा तालाबन्दी गरिएको हो । स्थानीय तहमा व्याप्त भ्रष्ट्राचार र पार्टीका कार्यकर्ताको धरपकड संगै झुटो मुठभेडका नाममा हत्या गर्ने श्रृङखला बढाउदै लगेकाले त्यसको विरोध स्वरुप प्रथम चरणको घोषित कार्यक्रम अन्र्तगत तालाबन्दी गरिएको इन्चार्ज अर्जुनले संचारकेन्द्रलाई बताए।

परशुराम नगरपालिकाका विभिन्न वडामा बम
यसैबीच उता डडेलधुराको परशुराम नगरपालिकाका विभिन्न वडामा बम भेटिएको छ । परशुराम नगरपालिका– ९ को गाइबाधे र १० को कुर्मुल्ले वडा कार्यालयमा आइतबार बिहान शंकास्पद वस्तु छाडेर अज्ञात समूहले तालाबन्दी गरेको हो । सोही वडाको ७ र ८ मा तालाबन्दी गरिएको भए पनि बम भने भेटिएको छैन । तालाबन्दीसँगै प्लास्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखिएको परशुराम नगरपालिका–९ का वडाध्यक्ष रमेश बोहराले बताए । शंकास्पद वस्तु भेटिएको जानकारी जनप्रतिनिधिले गराएपछि प्रहरी घटनास्थलतर्फ गएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले शंकास्पद वस्तु भेटिएका स्थानमा प्रहरी टोली खटाइएको जानकारी दिए ।त्यस्तै, आलिताल गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा पनि तालाबन्दी गरिएको छ । यहाँ भने कुनै पनि शंकास्पद वस्तु नराखिएको बताइएकाे छ ।

यस्तै अछामका स्थानीय निकायमा तालाबन्दी गरिएको छ । नेकपा अछामका नेता निर्क शाहीले संचारकेन्द्रलाई दिएको जानकारीअनुसार अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको उनले बताए ।

कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ। पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको उनले बताए। यता मंगलसेन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यालयको ताला तोडेर छुट्टै ताला झुन्ड्याएको जानकारी दिए। दलाल पुँजीवादी सरकारका विरुद्ध लगाइएको ताला खोलेमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ भनेर पर्छमा धम्कीपूर्ण भाषा लेखिएको वडा अध्यक्षले बताएका छन्। यता जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले अहिलेसम्म पञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलास्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया