काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले संवैधानिक आचरण र मर्यादाविपरितका शब्द बोलेका छन् । बैठकमा केह सांसदहरुले प्रधानमन्त्री केपी ओलीलाई झुटप्रसाद ओली र प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई छेरबहादुर भन्नेजस्ता आपत्तिजनक शब्दसमेत बोलेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षका सांसदले प्रधानमन्त्री ओलीको नाम बिगारेर उच्चारण गरेपछि सत्तापक्षका सांसदले आक्रोस व्यक्त गरेका छन् ।नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले केपी ओली नेतृत्वको सरकारले देश र जनताको मर्म अनुसारको काम नगरेको बताउनुभएको छ ।
संसदमा बोल्दै देश र जनताले आभाष हुने खालको काम अहिलेको सरकारले नगरेको आरोप लगाउनुभयो ।
जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएको बताउँदै उहाँले झुटो आश्वासनले देश सम्मृद्धिमा नजाने जिकिर गर्नुभयो ।
‘प्रधानमन्त्री ओलीले अहिले झुटो आश्वासन जनतामाझ बाँड्दै हिड्नुभएको छ, अब उहाँको नाम करप्रसादबाट झुटप्रसाद ओली राख्दा फरक पर्दैन ’ चाैधरीले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद झपडबहादुर रावलले प्रधानमन्त्री ओलीको नाम बिगारेको भन्दै आक्रोश पोख्नुभएको छ । संसदमा बोल्दै रावलले हामीले बोल्ने शौली र भाषाले नेपाली जनताले अब के सिक्ने भन्दै प्रश्न गर्नुभयो, ‘प्रतिपक्ष दलका नेताले प्रधानमन्त्रीको नाम झुटप्रसाद भन्दा सत्ता पक्षका नेताले शेरबहादुरको नाम छेरबहादुर राखेभने के हुन्छ ?’







