अन्तरीक्षमा अगाडि बढ्नका लागि संसारका शक्तिशाली मुलुकहरुबीच होडबाजी चलिरहेको छ । यसैक्रममा अमेरिकी अन्तरीक्ष संस्था नासाले एउटा महत्वपूर्ण तथा निकै गम्भीर निर्णय गरेको छ ।
अमेरिकाले चन्द्रमा र मंगल ग्रहमा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्नका लागि नासासँग सुझाव मागेको थियो । जस अनुसार नासाले आउँदो १० वर्षभित्रमा चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापित गर्ने तयारी गरिरहेको छ ।अमेरिकी ऊर्जा विभागको इडाहो राष्ट्रिय प्रयोगशालासँगको सहकार्यमा नासाले चन्द्रमामा स्थापना गरिने परमाणु ऊर्जा संयन्त्रका विषयमा तयारी गरिरहेको छ । उक्त परियोजनाको नाम फिसन सर्फेस पावर प्रोजेक्ट हो ।
परियोजनाका प्रमुख सेबेस्टियन कोर्बिसिएरोका अनुसार चन्द्रमामा विश्वसनीय तथा उच्च ऊर्जा संयन्त्र स्थापना गर्नु एक अहम् कदम हो जसले अन्तरीक्षमा सम्भावनाहरुको खोजी गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।उनका अनुसार यो लक्ष्य छिटै पूरा हुनेछ । परमाणु ऊर्जा संयन्त्रलाई पृथ्वीमै बनाएर चन्द्रमामा पठाउने लक्ष्य नासाको छ।
अमेरिकाले सूर्य तथा सौर्यऊर्जामा निर्भर ऊर्जाका श्रोतमाथि व्यापक अनुसन्धान गरिरहेको छ । नासाले यदि चन्द्रमामा परमाणु ऊर्जा संयन्त्र स्थापना गर्ने कार्यमा सफलता प्राप्त गर्यो भने त्यसपछि मंगल ग्रहमा पनि परमाणु संयन्त्र स्थापना गर्नेछ ।यसअघि नासाले आफ्नो अपोलो अभियानका माध्यमबाट पहिलोपटक चन्द्रमामा मानिसलाई उतारेको थियो । तथापि चन्द्रमामा अन्तरीक्षयात्रीहरू लामो समय रहेनन् ।
अबचाहिं अन्तरीक्षयात्रीहरू चन्द्रमामा लामो समय रहेर विभिन्न काम तथा परीक्षणहरु गर्नेगरी पठाउने नासाको योजना छ । यसका लागि ऊर्जाको ठूलो श्रोतको आवश्यकता पर्दछ । परमाणु ऊर्जा संयन्त्रको माध्यमबाट ऊर्जाको आवश्यकता पूरा गरिने नासाको विश्वास छ ।नासाका अनुसार यस्तो व्यवस्थाबाट चन्द्रमामा मानिसहरुको वस्तीलाई धेरै समयसम्म ऊर्जा प्राप्त हुनेछ । नासाको अन्तरीक्ष प्रविधि मिसन निर्देशनालयमा कार्यरत जिम रियूटरका अनुसार परमाणु ऊर्जा संयन्त्रबाट चन्द्रमा तथा मंगल ग्रहका लागि बिजुली आर्किटेक्चरको योजनार्ला फाइदा पुग्नेछ ।
पछिल्लो केही वर्षयता नासाले चन्द्रमामा आणविक विखंडन (न्यूक्लिएर फिसन) को सम्भावनाको खोजी गरिरहेको छ । यस परियोजनाको नाम किलोपावर हो, जसमा नासा र अमेरिकी एर्जा विभागले मिलेर अनुसन्धान गरिरहेका छन् ।
एजेन्सीको सहयोगमा







