काठमाडौँ, साउन १७ गते । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको लैनचौरस्थित निजी निवासमा सैनिक कामदार छैनन् । आमा–बुवा सोही निवासमा बस्दै आउनुभएकाले सुरक्षार्थ सैनिक गार्डहरू खटाइए पनि कामदार कर्मचारी देखिँदैनन् ।उहाँको निवासभन्दा करिब दुई सय मिटरको दूरीमा रहेको एक अर्का उच्च सैनिक अधिकारीका घरमा मूलढोकादेखि भान्सासम्म पाँच जना सैनिक कर्मचारी कार्यरत छन् । उनीहरू घरको सरसफाइदेखि भात पकाउनेसम्म घरेलु कामदारका रूपमा प्रयोग हुँदै आएका छन् ।
गृह मन्त्रालयका अनुसार पूर्व विशिष्ट व्यक्ति, पूर्वमन्त्री, वरिष्ठ नेता तथा प्रहरी अधिकारीको घरमा प्रहरी र सशस्त्र प्रहरीका जवानहरू कामदारका रूपमा कार्यरत छन् । उच्च पदाधिकारीको घर कुर्नेदेखि बालबच्चा खेलाउनेसम्मको जिम्मेवारी पनि सुरक्षाकर्मीलाई दिने गरिएको छ ।सुरक्षा चुनौती भएकाहरूको व्यक्तिगत सुरक्षाका लागि खटाइएका सुरक्षाकर्मीलाई फरक काममा लगाउने र मापदण्डविपरीत सुरक्षाकर्मी राख्ने गरेको जनगुनासो आएपछि प्रहरी र सशस्त्र प्रहरीको हकमा नयाँ कार्यविधि निर्माणको तयारी भइरहेको गृह प्रवक्ता सुवेदीले बताउनुभयो ।
‘सुरक्षा थ्रेट’ भयो भनेर कसैले उजुरी दिएमा त्यसको शान्ति सुरक्षाका लागि हतियार सहितको सुरक्षाकर्मी खटाउनु राज्यको दायित्व भएको गृह प्रवक्ताको भनाइ छ । उहाँले थप्नुभयो, “यसरी खटाइएका सुरक्षाकर्मीलाई अनावश्यक काममा लगाइएको गुनासो आएपछि फिर्ता बोलाउन थालेका छौँ । पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसचिव, पूर्वआईजीपी, पूर्वएआईजीपीलगायत अन्य तहका पूर्वपदाधिकारीको सुरक्षार्थ तैनाथ सबैलाई फिर्ता गरिएको प्रहरी प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो ।पूर्वआईजीपीलाई चारदेखि सात जनासम्म सुरक्षाकर्मी उपलब्ध गराउने व्यवस्था छ तर पनि कतिपय सुविधाभोगी पूर्वपदाधिकारीले फर्काउन मानिरहेका छैनन् । उहाँले भन्नुभयो, “नयाँ कार्यविधि बनेपछि सबै फिर्ता हुन्छन् । ”
झन्डै सात सय जना फिर्ता
सरकारको निर्देशनअनुसार नै व्यक्तिका घरमा काम गरेका सुरक्षाकमी फर्कने क्रम भने रहेको छ । नेपाल प्रहरीमा २८० र सशस्त्र प्रहरीको चार सय गरी ६८० जना सुरक्षाकर्मी फिर्ता भएका छन् । नेपाल प्रहरीले साउनभित्रमा फर्किनेको सङ्ख्या चार सय पुग्ने जनाएको छ । व्यक्तिगत सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको सङ्ख्या कति छ ? आधिकारिक तथ्याङ्क मन्त्रालयसँग पनि छैन । गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारीका अनुसार बहालवालाबाहेक पूर्वपदाधिकारी तथा व्यक्तिगत सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको निर्णयबाट सुरक्षाकर्मी खटाइने भएकाले विस्तृत विवरण आउन सकेको छैन ।
कतिपयले फर्काउनै नमानेको बताइएको छ । बारम्बार ताकेता गर्दा पनि नफर्किने सुरक्षाकर्मी र फर्काउन नमान्ने पदाधिकारीहरूको नाम सार्वजनिक गर्ने चेतावनी दिइएको छ । गृह मन्त्रालयका एक अधिकारीका अनुसार सन्त महन्तले समेत सुरक्षाका रूपमा प्रहरी राखेका छन् । प्रहरीका पूर्वहाकिमले पेन्सन हुने गरी विगत २० वर्षदेखि आफैँसँग राखेका सबै सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ । राष्ट्रसेवकलाई घरेलु कामदारका रूपमा प्रयोग गर्नुलाई प्रतिष्ठासँग तुलना गर्ने गरेका छन् ।
पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसचिव, पूर्वआईजीपी, पूर्वएआईजीपीलगायत अन्य तहका पूर्वपदाधिकारीको सुरक्षार्थ तैनाथ सबैलाई फिर्ता गरिएको प्रहरी प्रवक्ता सुरजकुमार श्रेष्ठले बताउनुभयो । पूर्वआईजीपीलाई चारदेखि सात जनासम्म सुरक्षाकर्मी उपलब्ध गराउने व्यवस्था छ तर पनि कतिपय सुविधाभोगी पूर्वपदाधिकारीले फर्काउन मानिरहेका छैनन् । उहाँले भन्नुभयो, “नयाँ कार्यविधि बनेपछि सबै फिर्ता हुन्छन् । ”
कमान्डरको आफूखुुसी
विशेषगरी सेनामा उच्च सैनिक पदाधिकारी तथा गण गुल्म कमान्डरबाट नै सैनिक कर्मचारीको दुरुपयोग हुने गरेको छ । महासेनानीभन्दा माथिल्लो दर्जाको सैनिक अधिकारीलाई ड्राइभर र बडीगार्डबाहेक थप सुविधा छैन तर पनि कतिपय तल्लो तहको अधिकृतले पाँच जनासम्म राख्ने गरेका छन् । पूर्वप्रधानसेनापतिलाई १० जना उपलब्ध हुँदै आएकोमा यो वर्षबाट कार्यविधि सच्याएर आवश्यकता हेरी उपलब्ध गराइने तयारी भइरहेको छ ।
नयाँ कार्यविधि जरुरी
व्यक्तिगत सुरक्षा तथा बडीगार्ड परिचालनका लागि नयाँ कार्यविधि निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । मुलुक शान्ति प्रक्रियामा आइसकेकाले बहालवाला भीभीआईपीलाई पनि उपलब्ध हुँदै आएको सुरक्षाकर्मीको सङ्ख्या घटाउनुपर्ने आवाज उठेको छ ।यसरी सरकार तथा सुरक्षा निकायका बहाल तथा पूर्वपदाधिकारीलाई अङ्गरक्षकका रूपमा उपलब्ध गराइएका सुरक्षाकर्मीलाई कामदारका रूपमा प्रयोग गरिन थालेपछि नयाँ कार्यविधिको आवश्यकता परेको हो ।
यो समाचार गोरखापत्र राष्ट्रिय दैनिक अखबारमा देवबहादुर कुँवरले लेखेका हुन्।







