काठमाडौँ, पर्सामा एक बालकको अपहरण पछि हत्या गरिएको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका शम्भु साहका ८ वर्षीय छोरा करण साह गत शुक्रबार अपहरणमा परेका थिए ।
अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।
पर्साका प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार गत शुक्रबार बिहान करिब साढे १० बजेतिर अपहरणमा परेका बालकको हत्या भएको हो । हत्यामा संलग्न ३ लाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ । उनीहरुको कम्मर मुनि गोली लागेको छ ।
प्रहरी नियन्त्रणमा रहेका ३ व्यक्ति विकास शर्मा, सिकिन्द्र साह र राम दिनेश महतो रहेका छन् । शम्भुकै घर नजिकै डेरा गरि बस्दै आएका भारतीय नागरिक अपहरणका योजनाकार रहेका प्रहरीले दाबी गरेको छ ।
अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका प्रहरीले जनाएको छ । त्यति ठुलो रकम आफुहरुसंग नभएको बताएकाले ५ लाखमा सहमति गरेका अपहरणकारीले बालकको हत्या गरिसकेकोले फिरौती रकम प्राप्त गरेपछि मात्र बालक फिर्ता दिने अडान लिएका थिए ।
आफन्तहरुले अपहरणकारीले बालक फिर्ता गर्न आनाकानी गरेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी उपरीक्षक रेवती ढकालका अनुसार अपहरणकारीले बोलाएको स्थानमा पुगेको प्रहरी टोलीलाई शव देखाएर उनीहरु भाग्न खोजेपछि प्रहरीले उनीहरुलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।