१५ खर्ब ३१ अर्बको बजेट आज सार्वजनिक हुँदै !

काठमाडौँ, नेपाल सरकारले आर्थिक वर्ष २०७६, ०७७ को बजेट आज सार्वजनिक गर्दैछ । प्रतिनिधिसभामा दिउँसो ४ बजे अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

बजेट लोकप्रिय हुने सरकारको दाबी छ । गत वर्ष १२ खर्ब ७९ अर्ब रहेको बजेट यस वर्ष करिब ३ खर्ब बढेर १५ खर्ब ३१ अर्ब रुपैयाँको बजेट आउने भएको छ ।

गत वर्षको बजेटमा कुल बजेटको ७३ प्रतिशत अर्थात् ९ खर्ब ३८ अर्ब २५ करोड रुपैयाँ खर्च भएर ३ खर्ब, ४० अर्ब ७५ करोड रुपैयाँ बचेको छ ।सरकारको आर्थिक २०७६, ०७७ मा ९ सय ७५ अर्ब राजश्वबाट उठाउने लक्ष्य रहेको छ ।

त्यसैगरी सय अर्ब वैदेशिक ऋणबाट जुटाउने योजना रहेको छ । चालू आर्थिक वर्षमा आन्तरिक ऋण १ सय ८८ अर्ब र विदेशी अनुदान ६८ अर्ब रुपैयाँ पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

वर्षेनी बजेटको आकार बढ्दै गए पनि यसको यथेष्ट रुपमा कार्यान्वयन भने अझै हुन सकेको छैन । बजेटको आकार मात्रै बढ्ने र रकम खर्च नहुने प्रवृति बढिरहँदा त्यसले अर्थतन्त्रमा असर पार्ने अर्थविदहरुको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया