काठमाडौं । ‘दुश्मन हेरेको हेर्यै’ गीतले युट्युबमा १० करोड भ्यूज पार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गायक तथा सर्जक दुर्गेश थापालाई बधाई दिएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार साँझ सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै भनेका छन्, “नयाँ पिँढीले बेग्लै स्वादका गीत-संगीतमा रुचि देखाउन थालेको कुरा ‘दुश्मन हेरेको हेर्यै’ गीतबाट प्रष्ट हुन्छ। पाँच महिनामै यो गीत १०० मिलियन भ्यूज पुग्नु सुखद उपलब्धि हो। गीतका सर्जक दुर्गेश थापालाई बधाई।”
दुर्गेश थापाले पनि प्रधानमन्त्रीको उक्त बधाई स्टाटस सेयर गर्दै आफ्नो सिर्जनात्मक यात्रामा ऐतिहासिक प्रेरणा थपिएको प्रतिक्रिया दिएका छन्।
वरिष्ठ संगीतकार सुरेश अधिकारीले प्रधानमन्त्रीको बधाई दुर्गेश मात्र नभएर समग्र संगीतकर्मी तथा सर्जकहरूको सम्मान रहेको बताए।
हालका दिनमा नेकपा एमालेले आयोजना गर्ने कार्यक्रमहरूमा समेत नयाँ पुस्ताका कलाकारहरूको उपस्थिति र प्रस्तुति देखिन थालेको छ। दरबारमार्गमा हालै सरकारले आयोजना गरेको कार्यक्रममा समेत युवा ब्यान्ड र कलाकारहरूलाई सहभागिता दिइएको थियो।