१६ फागुन, काठमाडौं : केहिबेरमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने भएको छ।‘ताप्लेजुङबाट काठमाडौँ ल्याएर पोष्ट मार्टम गरिसकेपछि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिने’, नेकपाले जनाएको छ साथै, ‘हाम्रो पार्टीका सबै कमरेड, विभिन्न राजनीतिक दलका नेता तथा मित्र, उच्चपदस्थ व्यक्तित्वहरु र आम जनसमुदायलाई टुँडिखेलमा हुने श्रद्धाञ्जलीमा सहभागी हुन हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ। बैठकले बिहीबार देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। त्यसैगरी नेकपाले फागुन २३ गते काठमाडौंमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलीसभा गर्ने निर्णयसमेत गरेको छ।
घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको थिए।खराब मौसमका कारण ताप्लेजुङ सदरमुकामस्थित सुकेटार विमानस्थलमा बिहानैदेखि उचित मौसमको पर्खाइमा रहेको सेनाको टोली काठमाडौंका लागि केही बेरअघि मात्रै काठमाडौं ल्याइपुर्याएको छ ।
आज राष्ट्रिय शोक घोषणा भएको दिन काठमाडौंको वातावरण उदास बनेको छ । काठमाडौंवासी मात्र होइन, सिंगै प्रकृति उदास बनेझैं प्रतीत भएको छ ।
दुर्घटनामा अधिकांशको शरीर जलेको अवस्थामा रहेकाले कतिपय शवहरु चिन्नसमेत गाह्रो छ । यो अवस्थामा पोष्टमार्टमका लागि समय लाग्न सक्ने भएकाले टुँडीखेलको समयतालिका प्रभावित हुन सक्ने देखिएको छ ।
देशले यतिखेर बहालवाला मन्त्रीका साथमा उदीयमान पर्यटन व्यवसायी, नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु, इञ्जिनियर, पाइलट एवं सुरक्षाकर्मीसमेत देशले गुमाएको छ । यतिबेला सिंगै देश शोकमग्न छ ।