हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका मन्त्री अधिकारी सहित ७ जनाको शव काठमाण्डौ ल्याँइदै

१६ फागुन, काठमाडौं: ताप्लेजुङमा AS350 हेलिकोप्टर दुर्घटनामा, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो । मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाण्डौ ल्याउन खराब  मौसमका कारण कठिनाई भइरहेको छ।

घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थलमा राखिएको  ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । उनले भने, ‘बाक्लो कुहिरो लागेको छ, हामी रेडी भएर बसेका छौं, मौसम अनुकुल हुनासाथ पठाउँछौं ।’

शवहरू काठमाडौं ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

स्रोतका अनुसार मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लैजाने जनाएको छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले  राष्ट्रिय शोक घोषणा गर्दै आज सार्वजनिक विदा दिएको छ ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया