हेटौँडामा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।
काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रधानाध्यापकसहित दुई जना पक्राउ
रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।
अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका हुन् ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित ‘लुम्बिनी प्लस’को कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको भुसालले बताउनुभयो ।