हामीहरूलाई छ करोड लिएर जानुस् भन्दै संसदलाई बदनाम गर्न पाइँदैन : गगन थापा !

फाइल फोटो

काठमाडौँ, मंगलबारको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै नेपाली कांग्रेसका सांसद गगन थापाले प्रत्येक सांसदलाई ६ करोड रूपैयाँ दिनु संसदको बद्नाम गर्नु भएको बताएका छन् ।

उनले सरकारले नीतिगत कुराहरुलाई बेवास्ता गरेर सांसदलाई छ करोड दिएर निर्वाचन क्षेत्र जान भनेको बताए ।

उनले भने, ‘ म प्रत्यक्ष निर्वाचित सांसद हुँ। विकासको मागसँग जोडिनुपर्छ भन्ने मलाई पनि थाहा छ । म पनि जोडिन चाहन्छु । बजेटमा मेलम्ची आयोजना, सुरुङ मार्ग निर्माण गरेर राजधानी जोड्ने, अतिक्रमित जग्गाको कुरा, हरित सहरीकरण, साइकल सिटीको कुरा छ । यो मेरो निर्वाचन क्षेत्रसँग सम्बन्धित छ । म यसमा जोडिन चाहन्छु । तर कसरी जोडिने भनेर प्रश्न राख्छु, उत्तर आउँदैन । संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन । ‘

उनले थप गर्दै भने, ‘ सरकार मलाई यी सबैसँग अलग राख्छ र भन्छ- माननीयज्यू तपाईंले ६ करोड प्राप्त गर्नु भएको छ । जानुस् निर्वाचन क्षेत्रमा, मन्दिरको पर्खाल बनाउनुहोस् । सामुदायिक भवन बनाउनुहोस् । किरियापुत्रीको भवन बनाउनुहोस् । जनतासँग जोडिनुस् । हामी निर्वाचन क्षेत्रका जनतासँग जोडिन ६ करोडको होइन, ६ अर्बको, खर्बको हाम्रो ठाउँसँग जोडिएको नीतिसँग जोडिन चाहन्छौं । योजनासँग जोडिन चाहन्छौं । ‘

प्रधानमन्त्री र सभामुखले समेत आफ्नो निर्वाचन क्षेत्रमा योजना छानेर बजेट बनाएको उनले बताएका छन् । उनि भन्छन्, ‘ अनि हामीहरूलाई छ करोड लिएर जानुस् भन्दै संसदलाई बदनाम गर्न पाइँदैन । ‘

नेकपाको सिद्धान्त नभएकै कारण बजेट त्यस्तै आएको उनको भनाइ छ । विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको पनि उनले बताएका छन् ।

उनले भने, ‘ बजेटबारे अर्थमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु, सांसद भएर खुसी हौं कि नागरिक भएर दु:खी हौं अलमलमा परेको छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया