हामीले संसदको अवरोध हटायौं, अब सरकारसँग शिक्षा विधेयक पास गर्ने जिम्मेवारी छ : प्रचण्ड

९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आज खुमलटारस्थित आफ्नो निवासमा भएको भेटमा अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रका विषयमा सरकारको ध्यान केन्द्रित गरिनु आवश्यक रहेको उल्लेख गरे।

भेटका क्रममा महासंघका प्रतिनिधिहरूले शिक्षकहरूसँग भएका सहमति कार्यान्वयनमा सरकार उदासीन देखिएको गुनासो गरे। उनीहरूले सहमति तत्काल कार्यान्वयन गराउन विपक्षी दलको समर्थनको अपेक्षा रहेको समेत स्मरण गराए।

जवाफमा अध्यक्ष प्रचण्डले सरकार शिक्षकहरूप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनका अनुसार, “हामीले सदनको अवरोध हटाउने निर्णय पनि शिक्षकका मागहरू पूरा नभएकाे बहाना नबनियोस् भनेर गरेका हौं।”

उनले शिक्षकका जायज मागहरू कुनै सर्तबिना पूरा हुनुपर्ने धारणा व्यक्त गरे। साथै, प्रारम्भिक बालविकास कक्षालाई विद्यालयको संरचनाभित्र समावेश गर्नुपर्नेमा पनि उनले आफ्नो स्पष्ट राय राखेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया