काठमाडौँ, मोरङ बेलवारी नगरपालिका-४ की रमिला राईको हत्या गरी शव सप्तकोशीमा फालेको आरोपमा नेकपा मोरङका नेता योगेन्द्र गुरुङलाई पक्राउ गरिएको छ । फागुन १८ गते शुक्रबारदेखि हराएको सूचना पाएको प्रहरीले गुरुङलाई इलामबाट पक्राउ गरेको थियो ।
अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार राईको हत्या गरी शव सप्तकोशीमा फालेको खुलेको छ । पक्राउ परेका गुरुङले युवतीको कोठामै हत्या गरी गाडीमा शव लगेर सप्तकोशीमा फालेको स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ । भेटका क्रममा शुक्रबार विवाद भएपछि गुरुङले हत्या गरी शव सप्तकोशीमा फालेको प्रहरीले बताएको छ ।
उनको बयानअनुसार शप्तकोशीमा शव खोज्न इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईको टोली परिचालन गरिएको छ । तत्कालीन एमालेका पूर्व बेलवारी अध्यक्ष गुरुङकी श्रीमती हुँदा हुँदै उनि उक्त महिलासँग प्रेम सम्बन्धमा रहेको प्रहरी श्रोतले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार गुरुङको पक्राउ पश्चात केही बिषयहरुको खुलासा भइरहेको प्रमाण संकलनको काम अघि बढिरहेको छ । केसीले भने, ‘महिलासँग अन्तिम समयमा भेट भएका आधारमा गुरुङलाई पक्राउ गरिएको हो ।गुरुङ विरुद्ध महिलाका आफन्तको जाहेरी पनि परेको छ ।’