सर्लाहीमा ३ छुट्टाछुट्टै दुर्घटना, ३ कै मृत्यु !

फाइल फोटो

काठमाडौँ, सर्लाहीमा ३ छुट्टाछुट्टै दुर्घटना भएको छ । दुर्घटनामा परि ३ को मृत्यु पनि भएको छ । दुर्घटना गोडैता नगरपालिका–६ बगदहस्थित महालक्ष्मी चिनी उद्योग, मलङ्गवा–४ सर्लाही क्याम्पस नजिक र ईश्वरपुर नगरपालिका–१५ सुक्नाहमा भएको हो ।

चिनी उद्योगमा उखु लोड गरिएको ना १ त ६६६६ नम्बरको ट्र्याक्टरको मुनि किचिएको अवस्थामा एक जनाको शव फेला परेको छ । क्टरको टेलरमुनि सुतिरहेको अवस्थामा मङ्गलबार राति टाउको किचिएको अवस्थामा उक्त शव फेला परेको हो । मृत्यु हुने लरा नगरपालिका–५ अर्नाहाका २६ वर्षीय शम्भु महतो रहेका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिएका छन् ।

ट्र्याक्टर चालक महतोको शवको प्रकृति हेर्दा मृतकको टाउको टेलर बाहिर निस्केकाले अन्य कुनै सवारी साधनले रातिको समयमा किचेको हुनसक्ने प्रहरीको अनुमान छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।

त्यसैगरी ना ३ प ५५४ नम्बरको मोटरसाइकल हरिपुरबाट मलङ्गवातर्फ आउँदै गर्दा दुर्घटना हुँदा गम्भीर घाइते भएकी ६५ वर्षीया मोसतकीमा खातुनको उपचारका क्रममा स्थानीय श्रीराम हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तस्तै भैँसी चराउन गएकी ईश्वरपुर नगरपालिका–१५ सुक्नाहका राकेश साहको पाँच वर्षीया छोरी काजल साहको भैँसीबाट लडेर मङ्गलबार साँझ मृत्यु भएको छ । भैँसीको डोरी कम्मरमा बाँधी घर आउँदै गरेको अवस्थामा भैँसी भाग्दा डोरीले बाँधिएकी काजल भैँसीबाट लडी लछारपछार भई घाइते बनेकी थिइन् । उनलाई उपचारको निम्ति अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।     ( रासस )

फेसबुकबाट तपाईको प्रतिक्रिया