काठमाडौँ, सरकारले विद्युतीय यातायात सञ्चालनलाई प्राथमिकतामा राखेको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार विद्युतीय यातायात काठमाडौं र अन्य ठूला सहरमा ३ सय बस सञ्चालन गर्नेबारे मन्त्रिपरिषदले आवश्यक निर्णय गरेर प्रक्रिया अघि बढाएको छ ।
साथै विश्व हरित वृद्धि संस्था ‘जिजिजिआइ’ सँग सम्झौता गर्न बबरमहलस्थित वन विभागमा आयोजित कार्यक्रममा बोल्दै उनले स्वच्छ वातावरणमा बाँच्न पाउने हकको ग्यारेण्टी गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
उक्त कार्यक्रम नेपालको विद्युतीय यातायात प्रवद्र्धनमा सहयोग गर्न विभिन्न मन्त्रालय, सरोकारवाला निकाय र जिजिजिआईका प्रतिनिधिबीच सहयोग सम्झौतामा हस्ताक्षर गर्न आयोजना गरिएको थियो ।
उनले जिजिजिआईसहित वातावरण संरक्षणका क्षेत्रमा सक्रिय संघसंस्थासँग सहकार्य बढाउन चाहेको पनि उल्लेख गरे । यसमा जिजिजिआईले प्राविधिक र आर्थिक सहयोग जुटाएको छ । साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले हस्ताक्षर पश्चात जिजिजिआईको प्राविधिक सहयोगले विद्युतीय सवारीको दीगो सञ्चालन गर्न मद्दत पुग्ने बताउँदै यसमा सरोकारावाला सबैको सहयोग आवश्यक रहेको पनि बताएका छन् ।
कार्यकारी निर्देशक तुलाधरले विद्युतीय सवारी साधन सञ्चालनमा सरकारी प्रतिबद्धता सकारात्मक रहेको उल्लेख गर्दै यसको दिगो सञ्चालनका लागि सुरुको सञ्चालन खर्च सरकारले गर्नुपर्ने सुझाव सनत दिए ।