काठमाडौँ, आईतबार रिपोर्टस क्लबको २१ औं वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री के.पी ओलीले विभिन्न बहानामा आन्तरिक द्वन्द्व मच्चाउन खोज्ने शक्ति परास्त भइसकेको हुँदा मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताएका छन् ।
उनले अब मुलुक पृथकतावाद नभएको टुक्राउन पर्छ भन्ने माग नभएको सबल र सुदृढ अवस्थामा पुगेको दाबी गरेका छन् । उनले भनेका छन्, ‘ जात, भूगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौं । ‘
समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताउँदै उनले भने, ‘ समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने कानुन र संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं । समृद्ध नेपाल: सुखी नेपालीको सबै आधार तयार भएको छ । ‘
समृद्ध नेपाल बनाउन समय लाग्ने भएकाले विदेशीसँग सहकार्य गर्ने प्रयत्न गरेको भन्दै उनले भने, ‘ त्यसका लागि लगानी सम्मेलन उत्साहजनक ढंगले सम्पन्न गर्यौं, राष्ट्र एक ठाउँमा रह्यो । सम्पूर्ण प्रयास एक दिशा र एक आवाजका साथ बढेको सन्देश पनि दिएका छौं । ‘
थप्दै उनले भने, ‘ सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रस्तुत हुने युवाले हामी विकसित दुनियाँका सन्तान भन्दा पनि सभ्य र सुसंस्कृत समाजका हौं भन्ने भुल्नु हुँदैन । हामीले आफ्नो समाज, इतिहास र सभ्यता विकासको परम्परा र गौरवलाई भुल्नु हुँदैन । ‘