समुद्रबाट अन्न निर्यात गर्न पाउने सम्झौताको केही घण्टामै युक्रेनी बन्दरगाहमा हमला

अन्न निर्यात गर्न पाउनेबारे रूस र युक्रेनबीच भएको महत्त्वपूर्ण सम्झौताको २४ घन्टा नबित्दै मुख्य युक्रेनी बन्दरगाहमा विस्फोट भएका छन्। युक्रेनी सेनाले ओडेसामा चार वटा क्षेप्यास्त्र प्रहार भएको र दुई वटा क्यालिबर क्रुज मिसाइल बन्दरगाहमा खसेको बताएको छ।

युक्रेनी सेनाको दक्षिणी कमान्डका प्रवक्ताले रुसी आक्रमणले न्यून क्षति पुगेको बताएका बीबीसीले उल्लेख गरेको छ।‘बन्दरगाहको संरचनामा खासै क्षति पुगेको छैन,’ नतालिया हुमेनियुकले भने, ‘प्रहार गरिएका रकेटहरू निकै महँगा हुन् । त्यसैले ती धेरै प्रयोग भएका छैनन् । ती क्षेप्यास्त्रहरूले अचुक निसाना लगाउन सकिने भएकाले यो नियतवश गरिएको आक्रमण हो।’

युक्रेनी विदेश मन्त्रालयले अन्न निर्यात सम्झौता असफल भए त्यसको जिम्मेवार रूस हुने बताएको छ।बिबिसीका अनुसार यसअघि शुक्रबार रूसले टर्कीको इस्तानबुलमा एक सम्झौता गर्दै आफ्नो देशका सेनाले युक्रेनी अन्न भण्डारणस्थल र अन्न ढुवानीलाई लक्षित गरी आक्रमण नगर्ने जनाएको थियो।

त्यस्तै अवरूद्ध भएको दसौं लाख टन युक्रेनी निर्यात खोल्न सहमति पनि गरिएको थियो। चार महिनासम्मका लागि गरिएको सम्झौता कार्यान्वयका लागि इस्तानबुलमा राष्ट्रसंघ, टर्की, रुस र युक्रेनी अधिकारी संलग्न समन्वय र अनुगमन केन्द्रसमेत स्थापना गरिएको छ। तर उक्त सम्झौताविपरीत आक्रमण भएको युक्रेनको दाबी छ।

युक्रेनले बन्दरगाहका अन्न भण्डारलाई रूसले जानीजानी निसाना बनाएको आरोप लगाएको छ।युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा मिसाइल हमला गरेपछि रुसले बर्बरता गरेको आरोप लगाएका छन्।

उनले रूस सम्झौतामा अडिन रहनसक्नेमा विश्वास गर्न नसकिने भन्दै प्रतिरक्षाका लागि सक्दो प्रयास गर्ने बताए।यद्यपी रूसी आक्रमणको बाबजुत पनि अन्न निर्यात पुन: सुरू गर्ने तयारी भइरहेको उनले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया