काठमाडौँ, सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द ( विप्लब ) लाई प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले हत्या, हिंसा र आतंक छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।
प्रतिबन्धले समस्याको समाधान नगर्ने र सबैखाले समस्याको हाल राजनीतिक संवादको माध्यमबाट नै खोज्न सकिने हुँदा विप्लबलाई कांग्रेसले वार्तामा आउन आग्रह गरेको छ ।
शनिवार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘ हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन नेपाली कांग्रेस सार्वजनिक अपिल गर्दछ । ‘
साथै सरकारले संबिधान विपरितको मार्गमा लागेर पार्टी प्रतिबन्ध गरी समस्याको समाधान खोजेको हुँदा यसो नगरी वार्ता बताई समस्या समाधान गर्न पनि आग्रह गरेको छ ।
शर्मा भन्छन्, ‘ हिंसात्मक व्रिदोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र यसको नेतृत्वलाई आवेगमुक्त भएर पहल गर्न अपिल गर्दछौं । ‘
विज्ञप्तिमा उल्लेख भए अनुसार, सभापति देउवाले, ‘ निषेधले होइन वार्ताबाटै समाधान खोज्न आग्रह गरेको ‘ र बरिष्ट नेता रामचन्द्र पौडेलले, ‘ विद्रोहीलाई विश्वासमा लिन नेकपाका दुई अध्यक्षलाई विशेष योग्यता प्रस्तुत गर्न ‘ आग्रह गरेका छन् ।
प्रवक्ता शर्मा भन्छन्, ‘ शान्तिपूर्ण वार्ताबाट शान्तिपूर्ण समाधान खोज्नुपर्छ ‘ । लामो हिंसाबाट शान्तिको सास फेरिरहेको अवस्थामा फेरि हिंसाबाट जर्जर भएर नागरिक जीवनमाथि खेलवाड नगर्न कांग्रेसले सचेत गराएको शर्माले बताएका छन्।