काठमाडौँ, धनुषामा अन्धविश्वासले लियो एक बालकको ज्यान । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ‘शक्तिशाली’ भइन्छ भन्ने अन्धविश्वासमा अढाई बर्षीय बालकको बलि दिइएको छ ।
वैशाख २४ गते बिहान घरनजिकैको बाँसघारीमा ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव फेला परेको थियो । प्रहरी अनुसन्धान पश्चात उक्त शव बलि दिएर फालेकाे पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालका अनुसार मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेको छ ।
धामीझाक्रीकाे काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासमा महत्तोले आप्नै आँगनमा धारिलाे हतियारले रेटेर बालककाे हत्या गरेकाे खुलासा भएको छ । हत्याका बेला महताेले लगाएका लुगा र प्रयाेग गरिएकाे धारिलाे हतियार प्रहरीले बरामद गरेको थियो ।
हत्याको आरोपमा ३ व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । हराएका साँझ बालकलाई आफन्तले अबेर रातिसम्म खोजतलास गर्दा भेटिएको थिएन । त्यस पश्चात भोली पल्ट बालकको शव भेटिएको छ ।
आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गर्दै छाड्दै गर्दा साहका छिमेकी धामी शत्रुघन महतोलाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धानले नयाँ मोड लिएको थियो ।
हालै झारफुक र टुनामुना सिकेका शत्रुघनका भिनाजु मिथिला नगरपालिका–८ कुसुमबिछौनाका ५२ वर्षीय जंगवीर महतो राजमार्ग क्षेत्रका चर्चित धामी हुन् ।