विप्लव समूहद्वारा मकवानपुरमा दुई गाडीमा आगजनी , हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला

हेटौँडा, १५ साउन/ काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा विप्लव समूहले बुधबार बागमती र नारायणी अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ ।

बन्दको क्रममा विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।

विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उहाँले बताउनुभयो ।

यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ ।

हेटौँडाको थानाभ¥याङ, चौकीटोल र हुप्राचौर क्विक २० पार्टीप्यालेस नजिकै शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

सबै शङ्कास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरिसकेको जनाइएको छ ।

 

विपद् उद्धार सामग्री हस्तान्तरण
जिल्लामा हुनसक्ने विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरिएको छ ।

टिडीएचको आर्थिक सहयोगमा स्थानीय संस्था सामुदायिक विकास केन्द्र नेपालले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई हस्तान्तरण गरेको हो । संमितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई संस्थाका अध्यक्ष नारायण नेपालले हस्तान्तरण गर्नुभएको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा संस्थाले रुख काट्ने आरो दुई थान, सावेल पाँच थान, स्टेचर नौ थान, पिक पाँच थान, कोदोलो पाँच थान, आगो नियन्त्रण गर्ने ग्यास सिलिन्डर, ठेलागाडा, इमर्जेन्सी लाइटलगायतको सामग्री प्रदान गरिएको हो ।

सामग्री बुझेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले यस्ता सामग्री सहयोगमा जिल्लामा विपद्को घटना हुँदा उद्धारका लागि सहज हुने र स्थानीय प्रशासनले यी सामग्रीको आवश्यकता अनुसार प्रयोग र सुरक्षित रुपमा राख्ने बताउनुभयो ।

विपद् जुनसुकै समयमा आउनसक्ने भएकाले पूर्वतयारीस्वरुप यस्ता सामग्रीहरु तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामग्री सहयोग गरिएको सामुदायिक विकास केन्द्र नेपालका कार्यकारी निर्देशक विष्णुराज नेपालले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया