विप्लवद्वारा बम विस्फोट गराईएपछि, सुरक्षा माग्दै म्यानपावर कम्पनीहरु बन्द !

काठमाडौँ, चन्दा नदिएको कारण वैदेशिक रोजगार व्यवयायी संघका अध्यक्ष रोहन गुरुङको घरमा नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले शुक्रबार शक्तिशाली बम विष्फोट गरएको थियो । घटनाको विरोध र दोषीमाथि कारवाहीको माग गर्दै संघले नै आज आइतबार म्यानपावरहरु बन्द गर्ने निर्णय गरेको छ ।

संघले आज नै व्यवसायीको आकस्मिक भेला पनि आयोजना गरेको बताउँदै महासचिव नरेश गेलाल भन्छन्, ‘व्यवसायमा असुरक्षाको अवस्था सिर्जना भएको छ, अब कसरी अघि बढ्ने भन्ने बारे भेलाले निर्णय लिन्छ । राज्यसँग हामी भरपर्दो सुरक्षाको माग गर्छौं ।’

वैदेशिक रोजगार व्यवसायी संघले यसअघि विप्लब समूहले माग गरेको चन्दा दिन अस्वीकार गरेको थियो । यसैकारण उक्त समूहले बम विस्फोट गराएको हो । समूहले घटनाको जिम्मेवारी लिइसकेको छ । घटनामा संघका अध्यक्ष गुरुङको घरमा आगलागी भएको थियो र ४ व्यक्ति घाइते पनि भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया