काठमाडौं,२२ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ सय विद्युतीय बस खरीदका लागि आवश्यक स्पेशिफिकेशन बनाउने काम सम्पन्न गरेको छ । चालू आर्थिक वर्षको बजेटमा स्रोत विनियोजन नभए पनि मन्त्रालयले बस खरीदका लागि स्पेशिफिकेशन बनाएर टेन्डर निष्कासन गर्ने तयारी गरेको हो ।
सरकारले २०७५ पुसमा ३ सय विद्युतीय बस खरीद गरी काठमाडौं उपत्यकामा चलाउने निर्णय गरेको थियो । त्यसअघि एशियाली डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले पाँचओटा विद्युतीय बस खरीद गरी प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नै उद्घाटन गराएको थियो । कात्तिक ६ गते प्रधानमन्त्री ओलीले बीवाईडीका पाँचओटा बस उद्घाटन गरेकोमा ती बसमा विवाद भएपछि थन्किएका छन् ।
२०७६ वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस गुडाउने दाबी गरेको सरकारले सोही वर्षको असारमा मात्रै बस खरीदका लागि बजेट विनियोजन गरेको थियो । असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयबाट सरकारी स्वामित्व रहेको साझा यातायात प्रालिलाई बस खरीदका लागि रू। ३ अर्ब दिने घोषणा गरेको थियो । तर, ३ महीनापछि नै समयमै बस खरीद गर्न नसकेको आरोप लगाउँदै खरीद प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।
माघ दोस्रो साता साझालाई दिएको रकम फिर्ता लिँदै सरकारले बस खरीदको जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो । तर, निर्णय गरेको ८ महीना बितिसक्दा पनि मन्त्रालयले बस खरीद गर्न सकेको छैन । मन्त्रालयले सहसचिव प्रमिला वज्राचार्यको नेतृत्वमा स्पेशिफिकेशनका लागि समिति बनाएको थियो । बसको स्पेशिफिकेशन बनाउन गठित समितिका सदस्य एवं मन्त्रालयका यातायात शाखाका प्रमुख शंकर सिंह धामीले स्पेशिफिकेशन बनाउने काम सकिएकाले टेन्डरको काम अघि बढिसकेको बताए । दशैंअघि नै टेन्डर खोल्ने निर्णय मन्त्रालयले गरेको थियो । तर, मन्त्रालयका कर्मचारीलाई कोभिड देखिएपछि काम केही पछि सरेको मन्त्रालयको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।