काठमाडौँ, २६ साउन । लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालीसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले १४ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १३ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।
निषेधित क्षेत्र तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।
केही महिना पहिले जारी लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै आदिवासी जनजाती धर्ना लगायतका विरोध प्रदर्शनमा उत्रिएका छन्।
हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ ।