लिंग परिवर्तन गरेकाले पनि नागरिकता पाउने

काठमाडौं : लिंग परिवर्तन गरेका व्यक्तिले परिवर्तित लैंगिक पहिचान र नाममा नागरिकता पाउने भएका छन्। संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमा लिंग परिवर्तन गरेका व्यक्तिलाई परिवर्तित लैंगिक पहिचान र नाममा नागरिकता दिने व्यवस्था गर्ने सहमति जुटेको हो। नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नागरिकता विधेयकको प्रारम्भिक मस्यौदामा लिंग परिवर्तन गरेका व्यक्तिलाई नागरिकता दिने व्यवस्था गरिएको छ। नेपालमा लिंग परिवर्तनको कानुनी व्यवस्था छैन। तर, समितिको आइतबार बसेको बैठकले लिंग परिवर्तन गरेर आएकालाई परिवर्तित लैंगिक पहिचान र नामअनुसार नागरिकता दिने व्यवस्थामा सहमति जुटाएको हो। समितिले तयार गरेको प्रारम्भिक मस्यौदामा नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्तिले पछि लिंग परिवर्तन गरी परिवर्तित लैंगिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र लिन लिंग परिवर्तन भएको प्रमाणसहित निवेदन दिएमा सम्वन्धित अधिकारीले सवुद प्रमाण बुझी पहिले लिएको नागरिकता खिची सोको सट्टामा नाम तथा लैंगिक पहिचानको विवरण परिवर्तन गरी अर्को प्रमाणपत्र दिन सक्ने लेखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया