काठमाडौँ, १२ साउन/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त कार्यालय प्रमुख भीमप्रसाद आचार्यसहित चार जनालाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
आयोगको पोखराबाट खटिएको टोलीले आज निमित्त कार्यालय प्रमुख आचार्य, स्टोरकिपर रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैशीलाई रु एक लाख ३० हजार घुससहित आज कार्यालयबाटै पक्राउ गरेको छ ।
सो कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रम वापतको पेश्की फछ्र्योट गरिदिने भन्ने बाहानामा सेवाग्राहीसँग घुस माग गरेको भन्ने आरोप लागेको छ ।
सबै स्थानीय तहमा शान्तिपार्क निर्माण गरिने
प्रदेश नं– ३ सरकारले प्रदेशभित्रका सबै स्थानीय तहमा शान्तिपार्क निर्माणको काम शुरु गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका सबै ११९ स्थानीय तहका एक–एक स्थानलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न भन्दै शान्तिपार्क निर्माण गर्न लागेको हो ।
तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी काम शुरु गर्न लागिएको आन्तिरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो । शान्तिपार्क निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि मात्र रु १० करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले बजार क्षेत्रमा घरैघर बनेका छन्, बस्ती निकै साँघुरा हुनथाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन, त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका हौं ।” शान्तिपार्क निर्माण गर्न चाहने स्थानीय तहले ५० प्रतिशत लगानी गर्न प्रतिबद्धता जनाए मात्र प्रदेशले बजेट पठाउने जनाइएको छ ।