९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ बहिष्कार गरेका छन्।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै दुवै दलले प्रतिनिधि सभामा निरन्तर विरोध जनाउँदै आएका छन्। सांसदहरूको विरोधबीच पनि सभा सञ्चालन भइरहेकै बेला रास्वपाका सांसदहरूले वेलमा बसेर असहमति जनाउँदै आएका थिए।
सोमबारको प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसूची थियो। सभामुखले मन्त्रीहरूलाई जवाफ दिन बोलाएपछि रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरे। राप्रपाका सांसदहरू त्यसअघि नै सभाकक्षबाट बाहिरिएका थिए।
सभाबाट बाहिरिनुअघि रास्वपाका सांसद शिव नेपालीले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भने, “जनताको पक्षमा कुरा उठाउनु हाम्रो अपराध होइन। तर भिजिट भिसाको नाममा युवाहरूलाई विदेशमा बेच्नु घोर अमानवीय कार्य हो।”
उनले थप भने, “अपराधीलाई कारबाही गर्नुको सट्टा राज्यले बचाउन खोजिरहेको छ। यस्तो गम्भीर अपराधमा पनि प्रमुख दुई ठूला दलहरूको नेतृत्वमा रहेको सरकार किन मौन छ? सरकारले आपराधिक गिरोहसँग साँठगाँठ गरेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।”
सांसद नेपालीले आफूहरू कुनै दल वा नेताको विरोधमा नभई मानव तस्करी, कुशासन र भ्रष्टाचारविरुद्धको अभियानमा रहेको प्रस्ट पारे। उनले गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग दोहोर्याए। भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्ने अडानसमेत राखे।
माग सुनुवाइ नभएको भन्दै सांसदहरूले मन्त्रीहरूको जवाफ नसुन्ने घोषणा गर्दै बैठक बहिष्कार गरेका हुन्।