काठमाडौँ, सहमतिमा प्रयोग भएको शब्दसंग खेल्न खोजिएको र ‘जन अभिमत’ को अर्थ ‘जनमत संग्रह’ नहुने दावी गरेका गृहमंत्री रामबहादुर थापा बादलले सहमतिलाई गलत रुपमा व्याख्या भइरहेको बताएका छन् ।
राजनीतिक मुद्दालाई जनअभिमतबाट संविधान संशोधन र राजनीतिक अधिकारलाई पूर्णता दिन सकिन्छ भनेर राउतसँग सहमति भएको बताउँछन् गृहमंत्री बादल ।
रुपन्देहीको भैरहवामा सोमबारदेखि सुरु भएको प्रदेश नम्बर ५ स्तरीय दुई दिने सुरक्षा गोष्ठीमा राउतको बचाउमा बोल्दै बादलले जनमत संग्रहबाट राष्ट्रलाई अलग पार्ने सोच सिके राउतमा पनि नभएको बताएका छन् ।
उनि भन्छन्, ‘नेपाल अखण्ड राज्य हो, देशको अखण्डता कायम गर्न प्रतिबद्ध छौं, यो हाम्रो कर्तव्य हो भनेर स्वतन्त्र मधेश गठबन्धनले प्रतिबद्धता जनाएपछि राजनीतिक सहमति भएको हो ।’
सहमति विपरितका गतिविधीहरु भएको कुरालाई ढाक छोप गर्दै उनि राउतले आफ्नो कार्यकर्तामा त्यस किसिमको सन्देश सम्प्रेषण गर्न बाँकी रहेकोले जनकपुरमा त्यस्ता गतिविधिहरु भएको बताएका छन् ।
राज्यविरोधी र व्यवस्था विरोधी समूहहरुको गतिविधि नियन्त्रण गर्न र उनीहरुलाई मुलधारमा ल्याउन सरकार निरन्तर प्रयत्नशील रहेको पनि उनले बताए ।
विप्लवलाई लक्षित गर्दै बादलले राज्यविरोधी, संविधान विरोधी र व्यवस्था विरोधी समूहबाट शान्ति सुरक्षा र प्रगतिको लागि चुनौती भएकोले यसलाई पनि सफलतापूर्वक निष्तेज र नियन्त्रण गरिने बताए ।