काठमाडौँ, २०७५ साल असोज ३ गते संविधान दिवसको दिन गृह मन्त्रालयले घोषित विभूषणहरुमध्ये मानपदवी प्राप्त गर्ने व्यक्तिहरुको नामावली सार्वजनिक गरेको थियो ।
सरकारले चर्चित गायक पशुपति शर्मालाई विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएको नेपाल रत्न, महा उज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रवल जनसेवा श्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवा श्री, कीर्तिमय राष्ट्रदीप, प्रवल जनसेवा श्री र जनसेवा श्री मध्ये प्रबल जनसेवा श्री प्रदान गर्ने निर्णय गरेको थियो ।
गत असोज ३ गते सरकारले घोषणा गरेको उक्त मानपदवी राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अर्थात नयाँ वर्षको दिन प्रदान गरेकी थिइन् ।सरकारले मानपदवी प्रदान गर्नका लागि निर्णय गरेर खबर पठाएका अधिकांश व्यक्ति प्राप्त मानपदवी ग्रहणका लागि सरकारले तोकेको पोशाक र समयमा राष्ट्रपति कार्यालय पुग्दा गायक पशुपति शर्मा ले भने यस बारे खबर पाएका थिएनन् ।
उनको प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) को ९ नम्बरमा नाम रहेको थियो । आफुलाई यस बारे खबर नभएको बताउँदै उनले भने, ‘ पदक घोषणा गर्दा मेरो पनि नाम छ भनेर मैले कसैबाट सुनेको थिएँ । तर नयाँवर्षको दिन प्रदान गरिँदैछ भन्ने मलाई जानकारी थिएन । आइतबार प्रदान हुँदैछ भन्ने मैले त्यसैदिन बिहान ८ बजे मात्रै थाहा पाएँ । म त्यतिबेला पर्वतको कुश्मामा एउटा कार्यक्रमा थिएँ । ‘
केही समयअघि उनले ‘लुट्न सके लुट् कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीतमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतलाई व्यङ्ग्य गरेको भन्दै सत्तारुढ पार्टीका कार्यकर्ताले धम्की दिएपछि युट्युबबाट हटाएका थिए ।
कार्यव्यस्तताको कारण फोन नउठेको हुँदा यस्तो भएको हुन सक्ने पनि उनले बताए । उनले भने, ‘ मैलै मानपदवी बहिष्कार गरेको होइन । लिन्न भनेर नलिएको पनि होइन । बहिष्कार गरेको पनि होइन । आजकाल धेरैजसो फोन म उठाउँदिन । कति त मोबाइल साइलेन्स मोडमा पनि हुन्छ । सरकारले फोन गरेका बेला फोन नउठेको पनि हुन सक्छ । ‘