दामन, २५ माघ : भारी वर्षासँगै मकवानपुरको उच्च पहाडी क्षेत्रमा अहिले साँझदेखि हिमपात भएको छ । मकवानपुरको उच्च पहाडी क्षेत्र दामन, सिमभञ्ज्याङलगायतका भूभागमा हिमपात भएको हो । हिमपात अघि त्यस क्षेत्रमा ठूलो असिना पानी परेको थियो । हिमपात भएसँगै पर्यटकीय क्षेत्र दामन पुगेको पर्यटक तथा स्थानीय हिउँ खेलेर रमाइरहेका छन् ।
पहिलोपटक दामन पुग्ने बित्तिकै हिउँ खेल्न पाउँदा निकै आनन्द लागेको त्यहाँ पुग्नुभएका सर्जिकल एशोसिएशन अफ नेपालका अध्यक्ष रमन कायस्थले बताउनुभयो । यस वर्ष दामनमा चौथो पटक हिउँ परेको एभरेष्ट पानारोमा होटलका कर्मचारी तुलसी घिमिरेले बताउनुभयो ।
दुई दिनदेखिको बद्लीसँगै दामनलगायत उच्च पहाडी क्षेत्रमा हिमपात हुने सम्भावना देखेपछि राजधानीबाट थुप्रै पर्यटक हिउँ खेल्न भनेर दामन पुगेका छन् । दामनमा हिउँ खेल्ने पर्यटकको भीडनै लागेको छ । दामन पुगेका पर्यटक रात परे पनि हिमपात भएपछि रातको प्रवाह नगरी होटलको आँगन, सडकमा निस्केका छन् । रासस