काठमाडौं, २१ असोज। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडको उद्योगमाथि छानबिन सुरु गरिएको छ । मोरङस्थित राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनी मापदण्ड पूरा नगरी सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुन प्याकेजिङ बजारमा बिक्री वितरण गर्दै आएको खबर बाहिर आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राज्यमन्त्री दुगडको उद्योगमाथि कारबाहीका लागि छानबिन अघि बढाएको हो ।
राज्यमन्त्री दुगडको उद्योगले कानुनविपरीत नुन प्याकेजिङ गरी प्रतिएक सय ग्राम ३५ रुपैयाँमा बिक्री वितरण गरेको पाइएको छ । नुन बिक्री वितरण गर्ने एकाधिकार नेपाल सरकारले हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको छ । मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले कानुनबमोजिम सञ्चालन गरेको छ वा छैन भनेर आन्तरिक छानबिन अघि बढाएको जानकारी दिए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले राज्यमन्त्री दुगडको ‘दुगड स्पाइस एन्ड फुड प्रोडक्ट्स प्रालि’ले सेन्चुरी स्प्रिंकलर्स टेवल साल्टको नामबाट नुन प्याकेजिङका लागि विभागबाट हालसम्म अनुज्ञापत्र नलिएको बताए । उनले कुनै पनि उद्योगबाट खाद्य वस्तु उत्पादन, प्रशोधन तथा प्याकेजिङ गरी बजारमा बिक्री वितरण गर्न विभागबाट अनिवार्य रूपमा अनुज्ञापत्र लिनुपर्ने बताए ।
उनले अनुज्ञापत्रविना नै बजारमा बिक्री वितरण गरेको छ भने खाद्य ऐन २०२३ र खाद्य नियमावली २०२७ बमोजिम कारबाही हुने बताए । प्रवक्ता महर्जनका अनुसार अनुज्ञापत्रविना नै उद्योगबाट खाद्य वस्तु प्रशोधन उत्पादन र प्याकेजिङ गरी बिक्री वितरण गरेमा १० हजार रुपैयाँ जरिमाना र गुणस्तरहीन खाद्य वस्तु झुक्याएर बिक्री गरेको छ भने ५० हजार जरिमाना वा ५ वर्ष कैद वा दुवै हुने सक्ने कानुनी प्रावधान रहेको कौशिला कुँवरले लेख्नु भएको समाचार आजको राजधानी राष्ट्रिय दैनिकमा प्रकाशित छ ।