राजमार्गमै लुटियो बस !

फाइल फोटो

काठमाडौँ, शुक्रबार बिहानै पूर्व–पश्चिम राजमार्गको निजगढ र पथलैयाबीचको सडकमा बस लुटिएको छ । काठमाडौंबाट महोत्तरीको जलेश्वर जाँदै गरेको ना७ख २७९० को रात्रि बस निजगढ र पथलैयाबीचको १३ किलोमिटरमा लुटपाट भएको हो ।

उक्त बसमा बसमा लुटेराको समूहले लुटपाट गरेका निजगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम लामाले बताएका छन् । लुटेराले बस चालक र सहचालकलाई कुटपिट गरेका थिए ।

लुटेराको कुटपिटबाट उनीहरु सामान्य घाइते भएका छन् । प्रहरी निरीक्षक लामाका अनुसार स्कोर्पियो जीप र २/३ वटा मोटरसाइकलमा आएका ६/७ जनाको समूहले सडक अवरोध गरी चालकलाई कुटपिट गरी सहचालकसँग ४५ हजार नगद र मोबाइल सेट एकथान लुटेर लगेका छन् ।

घटना स्थल निजगढबाट ७ किमी पश्चिम जंगलमा पर्दछ । बसका यात्रुले प्रतिकार गरे पश्चात उक्त लुटेरा समूह त्यहाँबाट भागेको थियो । उक्त समूह मध्ये एक जनालाई नियन्त्रणमा लिइ उनकै बयानका आधारमा अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक लामाले बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया