राजनीतिमा अर्को उथलपुथलः माधव र बाबुरामको चुनाव चिह्न एउटै, एकसाथ जनाए सहमती !

काठमाडौं । नेपाली राजनीतिमा अर्को उथलपुथल हुने भएको छ । नेकपा समाजवादी केन्द्र बनाउने गरी छलफललाई तीव्र पारेका चार कम्युनिष्ट घटकले नयाँ सहमती जनाएपछि राजनीतिक वृतमा तरंग पैदा गरेको हो ।

समाजवादी केन्द्र बन्ने लगभग पक्का भएका बेला यो केन्द्रमा आबद्ध हुने अरु दलहरुले समेत माओवादी केन्द्रकै चुनाव चिन्ह (गोलाकारभित्र हँसिया हथौडा) लिएर आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने भएका छन्। जसपा पुनर्गठन गरेका डा. बाबुराम भट्टराईको नयाँ गठन हुने पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय अभियान पार्टी गोलाकारभित्रको हँसिया हथौडा चिन्ह लिएर चुनावमा जान सहमत भएका हुन्।

यसअघि यो चुनाव चिन्ह नेकपा माओवादी केन्द्रले प्रयोग गरेको थियो। ०७४ को चुनावमा डा. भट्टराईले आँखा चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका थिए। गत वैसाखको चुनावमा माधव कुमार नेपालको पार्टीले कलम चुनाव चिन्ह लिएको थियो। भर्खरै खुलेको वामदेवको पार्टीले भने चुनावमा भाग लिएको छैन। चारै दलले आगामी चुनावमा समाजवादी गठबन्धन बनाएर जाने सहमति जुटाएका छन्।

‘समाजवादी गठबन्धन बनाएर चुनावमा जान्छौं,’ छलफलमा सहभागी डा. बाबुराम भट्टराई निकट एक नेताले भने, ‘मतदान चिन्ह माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हथौडा नै लिने लगभग समझदारी छ, लिखितम भएको छैन। माओवादीले २०६४ देखि सोही चिन्हबाट चुनाव लडेकाले जनतामा चर्चित नै छ, यसैलाई लिने कुरामा विवाद छैन।’

एमालेबाट विभाजन भएपछि नेकपा एकीकृत समाजवादीले पहिलो पटक स्थानीय चुनाव लडेको थियो। अहिले एकीकृत समाजवादीको कलम, डा. बाबुरामले जसपा पुनर्गठन गर्ने भएकोले पार्टीको नाम र चिन्ह के पाउँछन् खुलेको छैन। वामदेव गौतमले गुलाफको फूल चिन्ह मागेर निर्वाचन आयोगमा दल दर्ता गराएका छन्।

सबै दलभन्दा पुरानो र तीनवटा ठूला चुनाव लडेकोले माओवादीकै चुनाव चिन्हमा उठ्ने समझदारी बनेको समाजवादीका अर्का नेताले बताए। चार दलबीच चुनाव लगत्तै पार्टी एकता गर्नेगरी नेकपा समाजवादी केन्द्र पार्टी बनाउने सहमति जुटेको माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए। आइतबार संसदमा पत्रकारसँग कुरा गर्दै उनले तत्काल कुनै पार्टीसँग एकता नहुने प्रष्ट्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया